सरकारमा सहभागिता बारे फोरम र सत्तारुढ दलबीच बार्ता हुँदै ,कार्य सुचि यस्तो छ

काठमाडौं । संघीय समाजवादी फोरम नेपालले आज पनि सत्तारुढ दल माओवादी केन्द्र र एमालेसँग ११ बजे सिंहदरवारमा वार्ता गर्दैछ ।

फोरम नेपालले सविधान संशोधन र मन्त्रालयको बारेमा एमाले र माओवादी सँग स्पष्टता चाहेको छ ।

फोरम नेपालले लिखित सहमति भए मात्र सरकारमा जाने हिजो पदाधिकारीको बैठकबाट निर्णय गरेको थियो ।

फोरमका लागि राज्यमन्त्री सहित शहरी विकास र स्वास्थ्य मन्त्रालय छुट्याएर राखेको छ । तर फोरमले तीन मन्त्रालय मागरिहेको छ ।

फोरमका लागि दुईवटा मन्त्रालय छुट्याएर राखे पनि सविधान संशोधन लगायत मधेसका अन्य मुद्दामा भने वाम गठबन्धन र फोरमबीच अहिलेसम्म कुनै लिखित सहमति भने भएको छैन ।

सविधान संशोधनमा एमालेले सैद्धान्तिक सहमति जनाएको छ तर लिखित सहमति गरेको छैन । सविधान संशोधन कसरी गर्ने ? के के विषयमा गर्ने ? त्यसको सुनिश्चितता र प्रतिबद्धता फोरम नेपालले लिखित रुपमा खोजेको छ ।

सरकारमा सहभागिताका लागि वाम गठबन्धन र फोरम नेपालबीच यसअघि पनि पटक पटक पनि वार्ता भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्