अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि आयात-निर्यात सुरु ,प्रबन्ध शुल्कको विवाद टुंगियो

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबारदेखि बन्द भएको आयात निर्यात कार्य सोमबारदेखि पुनः सुरु हुने भएको छ।

नेपाल चेम्वर अफ कमर्सको उच्चस्तरीय प्रतिनिधिमण्डलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसँग आइतबार भेटवार्ता गरी प्रबन्ध शुल्क तिरेर आयात निर्यात गर्न आफूहरु तयार रहेको बताएको हो।

मन्त्री अधिकारीको आग्रहबमोजिम व्यावसायीले कानुनबमोजिम प्रबन्ध शुल्क तिर्ने र सहज रुपमा आयात निर्यात गर्ने बताएका हुन्। चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा चेम्बर कार्य समिति सदस्य एवं भन्सार सभापति निरज राई, भन्सार एजेन्ट महासंघका अध्यक्ष भरत घिमिरे, नेपाल भन्सार एजेन्ट संघ काठमाडौँका अध्यक्ष विष्णुमणि खनाललगायतको प्रतिनिमण्डलसँग मन्त्री अधिकारीले निजी क्षेत्रको सुझाव प्रतिवेदनलाई समेटी समय सापेक्ष सुधार गरी जाने विश्वास दिलाए।

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपाल नागरिक उड्डयन कार्यालयको स्वामित्वमा रही नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडबाट संचालित हवाई कार्गोको प्रबन्ध शुल्क वृद्धि गरिएकामा व्यवसायीले विरोध गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्