दिदीलाई भेट्न आएका भाइको हत्या,  भिनाजुसहित पाँच जना पक्राउ

काठमाडौं, जेठ ३१ ।  पर्साको बहुदरमाई नगरपालिका-२ सीसीयाडी बैरियाटोलमा दिदीलाई भेट्न आएका भाइको हत्या भएको छ ।

पर्सा बहुदरमाई नगरपालिका-२ सीसीयाडी बैरियाटोल बस्ने ४० वर्षीय राजेश रामको हत्या आरोपमा प्रहरीले उनकै भिनाजुसहित पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा जगरनाथपुर गाउँपालिका-६ बस्ने ४५ वर्षीय हिरामन महरा, ३६ वर्षीय रामबालक महरा, ४० वर्षीया बसन्ती देवी, ३५ वर्षीया सुनिता देवी र २२ वर्षीया रिंकु देवी रहेका छन् ।

शनिबार बिहान जगरनाथपुर गाउँपालिका-६ स्थित नारा खोलाको खोल्सामा राजेशको शव फेला परेको थियो । उनीहरुमध्ये हिरामन, बसन्ती, सुनिता र रिंकुलाई शनिबार र रामबालकलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

जेठ २४ गते आफ्नै दिदीको घरमा आइ बसेका राजेश रामलाई शनिबार राति मृतकका भिनाजु हिरामन महरा समेत परिवारका पाँच सदस्य मिली घाँटी कसेर हत्या गरी खोल्सामा शव फालेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

उनीहरुउपर ज्यानसम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट सात दिन म्याद लिई प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्