घर पुर्‍याइदिने भन्दै काठमाडौंमा सामूहिक बलात्कार, होटल सञ्चालकसहित ४ जना पक्राउ

काठमाडौँ, जेठ ३१ । काठमाडौँमा २४ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको छ । ती महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले चार जनालाई आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका बस्ने २४ वर्षीय रितेश तामाङ, काठमाडौं महानगरपालिका–६ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–२ घर भएका २२ वर्षीय रिन्जेन शेर्पा, सोही महानगरपालिका–६ बौद्ध बस्ने सर्लाही बागमती नगरपालिका–४ घर भएका ३४ वर्षीय उत्तम लामा, बौद्ध बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–४ घर भएका लुङ्ता गेस्ट हाउसका सञ्चालक ३४ वर्षीय आङनिमा भन्ने झ्याम्पा ढिल्ले शेर्पा रहेका छन् ।

काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित लुङता गेस्ट हाउसमा ती महिलालाई आइतबार चार जना पुरुषले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई बौद्धस्थित विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

उनीहरु उपर जबरजस्ती करणी सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

यता अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘उनी एक्लै भएपछि पक्राउ परेका मध्ये रिञ्जेन शेर्पाले घर पु¥याइदिन्छु भनेका रहेछन् ।’ प्रहरीका अनुसार त्यसपछि युवतीलाई ट्याक्सीमा हालेर उनी निस्किएका थिए ।

तर पीडित युवतीको भनाइ अनुसार शेर्पाले राति घरको ढोका पनि नखुल्ने भएकाले बाहिरै कतै बस्न कर गरेका थिए । ‘केही हुँदैन, उज्यालो भएपछि जाँदा हुन्छ भनेर धेरै नै भनेपछि म उसले भनेको ठाउँमा गएको थिएँ’ पीडित युवतीले भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्