आन्तरिक राजस्वमा वृद्धि नगरेसम्म ऋण लिनुपर्ने अवस्था आइरहन्छ : अर्थमन्त्री शर्मा
काठमाडौं , जेठ २७ । अर्थमन्त्री जनार्दन शर्माले मुलुक आन्तरिक राजस्व वृद्धि गरेर आत्मनिर्भर नभएसम्म आन्तरिक तथा बाह्य ऋण लिनुपर्ने अवस्था रहेको बताएका छन् ।
शुक्रबार प्रतितिनिधिसभा अन्तर्गतको अर्थ समितिले सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले मुलुकलाई सन् २०२६ सम्म कम विकसितबाट विकासोन्मुखमा स्तरोन्नति गर्ने लक्ष्य राखेकाले त्यसका लागि अर्बौं लगानी गर्नुपर्ने भएको बताए ।
मन्त्री शर्माले मुलुकको स्तरोन्नतिका लागि अहिले बजेटमा छुट्याएको पुँजीगत तथा समग्र खर्चले मात्रै लक्ष्य हासिल हुने दाबी गरे । उनले अहिले आन्तरिक र बाह्य ऋण गरी १७ खर्ब ३७ अर्ब ऋण रहेको बताए ।
सरकारले यो वर्ष मात्र ४० देखि ४५ अर्ब रुपैयाँ ऋण भुक्तानी गर्न लागेको भन्दै उनले ऋण भुक्तानी गर्नुपरेकाले अहिलेको बजेटमा पुँजीगत खर्च भन्दा चालुु खर्चमा वित्तीय व्यवस्थापन धेरै भएको बताए ।
त्यस्तै, अर्थसचिव मधुकुमार मरासिनीले सरकारले अहिले सार्वजनिक ऋण व्यवस्थापन हेर्ने छुटै निकाय बनाएर व्यवस्थित बनाउन लागेको बताए । उनले त्यसको लागि मन्त्रालय आवश्यक नीतिहरू बनाउने तयारीमा रहेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्