अछाम हत्या प्रकरण : ५ आरोपी पक्राउ

काठमाडौँ, जेठ २५ । अछामको पञ्चदेवल विनायक नगरपालिका- ४ का विनोद शाही मृत्यु प्रकरणमा हत्याका आरोपीत ५ जना पक्राउ परेका छन् ।

सिआइबीले मंगलबार साँझ ती ५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टले भने’ ‘सिआइबीले हिजो साँझ ५ जनालाई पक्राउ गरेर सोधपुछ गरिरहेको छ। अहिले घटनाको अनुसन्धान सिआइबीले नै गरिरहेको छ,’।

मध्यपहाडी राजमार्गमा पर्ने पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर ४ कुच्चीको भिरको खोँचमा उनको शव फेला परेको थियो। निर्वाचनका क्रममा शाही एमालेको प्रचारमा सक्रिय थिए।

जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा भएको द्वन्द्वपछि बेपत्ता भएका शाहीको शव शनिबार बिहान स्थानीयले भेटेका थिए ।

कांग्रेसको योजनाअनुसार हत्या भएको मृतकका आफन्तले आरोप लगाएका छन्। शव फेला परेको ५ दिनसम्म पनि शव उठाउन दिएका छैनन्।

घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै मृतकका आफन्त तथा स्थानीयले निरन्तर जिल्लाका विभिन्न स्थानहरूमा आन्दोलन जारी राखेका छन्।

प्रतिक्रिया दिनुहोस्