ग्यास सिलिण्डर पड्किँदा १२ वर्षीया बालिकाको मृत्यु, मुगुको यार्सामा लेक लागेर दुईको ज्यान गयो

काठमाडौं, जेठ २१ । खाना पकाउने सिलिण्डर ग्यास पड्किदा तनहुँमा आज एक बालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका-९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीया छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छिन् ।

सिलिण्डर ग्यासमा अचानक आगलागी भई पड्किँदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । मृतकको शव दमौली अस्पतालमा परीक्षणका लागि पठाइएकोे उनले जानकारी दिए ।

उता मुगुको मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा लेक लागेर दुई दिनको फरकमा दुई जनाको मृत्यु भएको छ । मुगम कार्मारोङ गाउँपालिका-७ महगाउँका १६ वर्षीय असल तामाङको शुक्रबार दिउँसो लेक लागेर मृत्यु भएको हो । उनी मांग्री गाउँ स्थित बुद्ध माविमा ९ कक्षामा अध्यायरत थिए ।

टाके पाटन क्षेत्रमा यार्सा टिप्न गएका तामाङ लेक लागेर सिकिस्त बिरामी भएपछि बोकेर गाउँतर्फ ल्याउँदै गर्दा छोटेचौर भन्ने स्थानमा उनको ज्यान गएको मुगुम कार्मारोङ गाउँपालिका(७ का वडाअध्यक्ष सशांक लामाले जानकारी दिए । एक साता नबित्दै यार्सा क्षेत्रमा लेक लागेर दुई जनाको अकालमा ज्यान गएको उनको भनाई ।

बुधबार यार्सा संकलकको सुरक्षार्थ खटिएका जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार राजबहादुर सिंहलाई कोइकी पाटनमा लेक लागेको थियो । लेक लागेर उनी विरामी भएका थिए । उनलाई थप उपचारको लागि नेपाली सेनाको हेलीकोप्टरबाट उद्धार गरी कोहलपुर शिक्षण अस्पतालमा लगिएको थियो ।

उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब निरीक्षका सुवास हमालले जानकारी दिए । यार्सा टिप्न गएका सर्बसाधारणलाई लेक लागेर बिरामी हुने र तत्कालै उद्धार एवं औषधि उपचारको अभावमा बर्षेनी अकालमा धेरैको ज्यान जाने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्