एनसीसी बैंकको डुबेको कर्जा असुली हुने भएपछि सेयरमा आकर्षण

काठमाडौं । आईतबारको सेयर बजारमा एनसीसी बैंकको सेयरमा निकै आकर्षण देखिएको छ । मार्केट डेप्थमा सेयर विक्रीको भन्दा खरिदको माग लगभग ४ गुणा बढी देखिएको छ । यो समाचार तयार पर्दा सम्म तेह्र हजार कित्ता सेयर विक्री सूचीमा राखिँदा खरिदमा भने ५० हजार कित्ताको माग देखिएको छ ।

शुक्रबार कर्जा दुरुपयोग गर्ने तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकको अध्यक्ष सहित १३ जना अधिकृतहरुलाई नियन्त्रणमा लिएर केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान प्रकृया अगाडि बढाएको छ । यो प्रकरणले बैंकको डुबेको कर्जा असुली हुने र खराब कर्जा घट्न गई कम्पनीले आगामी दिनमा नाफा बढाउने आशामा लगानीकर्ताहरु बैंकको सेयरमा आकर्षित भएका हुन ।

कारोबारमा खरिद चाप देखिएपनि बैंकको सेयरमूल्य भने घटेको छ । बैंकको सेयर घटेको मौकामा खरिदकर्ता हाबी हुँदा बैंकको कारोबार पनि उच्च देखिएको छ ।

दर्जन बढी कर्मचारीलाई नियन्त्रण लिएपनि राष्ट्र बैंक र स्वयं बैंकले पनि बैंकका लगानीकर्ता तथा निक्षेपकर्तामा कुनै असर नपर्ने बरु बैंकको अवस्था अझ सुदृढ हुने बताएका थिए । उक्त कर्जा उठ्न नसक्ने अवस्था देखिएपछि ऋणको नोक्शानी ब्यवस्थापन गर्न एनसिसीलाई राष्ट्र बैंकले निर्देशन दिएपछि चालू आवको दोस्रो त्रैमासमा नै बैंकले सो व्यवस्था गरिसकेको छ ।

सो प्रकरण तत्कालीन एपेक्स तर्फको कर्जाको विषय भएको र त्यसको नोक्सानी व्यवस्थापन एनसीसीमा भैसकेकाले लगानीकर्ता र सेवाग्राहीलाई कुनै नकारात्मक असर नपर्ने बैंकले विज्ञप्ती मार्फत आईतबार दोहोर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्