नेपालले फेरि भारतलाई बेच्न थाल्यो बिजुली, प्रतियुनिट साढे १० रुपैयाँ सोझै प्राधिकरणको खातामा
काठमाडौँ , जेठ १९ । केही समयअघि भारतबाट बिजुली नपाएर औद्योगिक ग्राहकको लाइन काटेको प्राधिकरणले अहिले फेरि भारतलाई बिजुली बेच्न थालेको छ ।
बुधबार रातिबाट ३९ मेगावाट बिजुली ‘इन्डियन इनर्जी एक्स्चेन्ज’ ( आईईएक्स) मा बेचेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए ।
हिजो रातिबाट त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाको बिजुली भारत निर्यात हुन थालेको उनले बताए ।
सबै सेवा शुल्कहरु घटाएर प्रतियुनिट औसत भारु ६ रुपैयाँ २८ पैसामा बिजुली बेचिएको उनको भनाइ रहेको छ ।
ह्विलिङ चार्ज, मध्यस्थकर्ता कम्पनीको सेवाशुल्क कटाएर नेपालले करिब साढे १० रुपैयाँमा भारतमा बिजुली बेचेको प्राधिकरणले जनाएको छ ।
भारतले हालसम्म नेपालका २ वटा आयोजनाको मात्रै बिजुली किन्नका लागि स्वीकृति दिएको छ । तर नेपालले भने विभिन्न ८ वटा आयोजनाको बिजुली भारतमा बेच्नका लागि अनुमति मागिरहेको छ ।
भारतले यसअघि २४ मेगावाटको त्रिशूली र १४ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाको मात्रै बिजुली किन्न अनुमति दिएको थियो ।
नेपालले भने माथिल्लो तामाकोसी, कालीगण्डकी, मर्स्याङ्दी, मध्यमर्स्याङ्दी, माथिल्लो भोटेकोसी र चमेलिया जलविद्युत् आयोजनाको बिजुली पनि किन्न भारतलाई प्रस्ताव गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्