आईजीपी विवाद: मुद्दाको अर्को पेसी जेठ ३० गते

काठमाडौँ , जेठ १७ । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति र एआईजीको बढुवासम्बन्धी परेको रिटमाथिको सुनुवाई जेठ ३० गतेका लागि तोकिएको छ ।

सर्वोच्च अदालतले आजका लागि सुनुवाइको मिति तोकेको भएपनि विपक्षीका नाममा म्याद तामेल हुन नसक्दा पूर्ण सुनुवाइ हुन सकेन ।

अवकास भइसकेका तीन डीआईजीको रिट पनि सँगै राखेर हेर्न लागिएको हो । जसका कारण आजको सुनुवाइ प्रभावित भएको हो ।

न्यायाधीश विश्वम्भर श्रेष्ठ र कुमार चुडालको इजलासमा मंगलबार पेशी तोकिएको थियो। तर डीआईजीको मुद्दाका कारण एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट पनि प्रभावित भएको थियो ।

त्यस्तै, सर्वोच्चले आदेश भएको मितिले ७ दिनभित्र प्रत्यक्ष भेटेर वा फ्याक्स वा इमेलमार्फत् म्याद तामेल गर्दै त्यसको तीन दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । सबै प्रक्रिया सकिएपछि जेठ ३० गतेका लागि सुनुवाइको मिति समेत तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्