सुनसरीमा छात्रामाथि यौन दुर्व्यवहार गर्ने प्रिन्सिपल काठमाडौंबाट पक्राउ

काठमाडौं, जेठ १२ । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा सुनसरीको ब्लुमिङ् लोटस इङगलिस स्कूलका तत्कालिन प्रिन्सिपल पक्राउ परेका छन्।

इटहरी उपमहानगरपालिका ५ स्थित उक्त स्कुलका तत्कालिन प्रिन्सिपल ३६ वर्षीय राज खड्का भन्ने राज कुमार खड्का पक्राउ परेको सीआईबीका एसपी कमल थापाले जानकारी दिए।

सिन्धुली कमलामाई नगरपालिका ७ घर भएका उनले आफ्नै स्कूलमा पढ्ने बिरामी भएकी १५ वर्षीया छात्रालाई घुमाउने र औषधि उपचार समेत गरी दिने भनी २०७४ साउन २६ गते यौन दुव्यर्वहार गरेको आरोप छ।

धरान उपमहानगरपालिका १० स्थित घोपा क्याम्प जाने बाटोमा पर्ने जनहित गेष्ट हाउसमा पुर्याई उनले जबरजस्ती करणी गरेको पीडितको आरोप छ।

स्कूलबाट रेष्टिकेट गरिदिने भनी धम्क्याई उनले जबरजस्ती करणी गरेपछि ती छात्राले स्कुल नै छाडेको सार्वजनिक गरेकी थिइन्।

छात्रालाई विवाह गर्छु भनी फकाउने र समाजमा बेइज्जत गरीदिने धम्की दिँदै पटक–पटक मानसिक तनाव दिएर जबरजस्ती करणी गरेको पीडितको जाहेरीमा उल्लेख छ।

पीडितले २०७५ भदौ २ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएकी थिइन्। जाहेरीपछि फरार रहेका खड्का काठमाडौं टोखा नगरपालिकास्थित बानियाटारमा डेरामा बस्दै आएको खुलेको छ।

उनलाई सीआईबीले बिहीबार त्रिपुरेश्वरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा पठाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट जबरजस्ती करणी मुद्दाको अनुसन्धान भएको थियो। सुनसरी जिल्ला अदालतमा मुद्दा दायर भएकोमा भागी फरार उनको यो मुद्दा मुल्तबीमा रहेको छ।

उनलाई अदालतमा उपस्थित गराउने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्