बुटवल उपमहानगर : कांग्रेसले एमालेलाई ५ हजार मतले पछि पार्‍यो

काठमाडौं, जेठ ४ । बुटवल उपमहानगरपालिका मतगणना जारी रहँदा कांग्रेसका मेयरका उम्मेद्वार खेलराज पाण्डेले मतान्तर बढाउँदै लगेका छन्।

पछिल्लो पटक पाण्डेले एमालेका बाबुराम भट्राईलाई ५ हजार १३ मतान्तरले पछि पारेका छन्।

उपमहानगरमा अहिलेसम्म २७ हजार ५५७ मत गणना भएको छ। जसमा कांग्रेसका पाण्डेले १५ हजार ५८९ मत ल्याएका छन्। एमालेका बाबुराम भट्राईले १० हजार ५७६ मत पाएका छन्।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मृगेन्द्र शेरचनले २ हजार ६४० मत ल्याएका छन्।

उपप्रमुखमा भने एमालेकी सावित्रा अर्याल अगाडि छन्। अर्यालले ११ हजार ७२५ मत ल्याएकी छन्। गठबन्धनको तर्फबाट एकिकृत समाजवादीका चिनबहादुर गुरुङले ८ हजार ६४१ मत ल्याएका छन्।

बुटवलमा वडाहरुमा पनि कांग्रेसले एक पछि अर्को गर्दै जित निकालेको छ। हालसम्म १२ वडा वडामा मत गणना सम्पन्न भइसकेको छ। जसमध्ये ७ वटा वडामा कांग्रेसले वडाध्यक्ष जितेको छ।

जस अनुसार वडा नम्बर ४ मा नारिश्वर शर्मा पौडेल, ५ मा हरिप्रसाद श्रेष्ठ, ६ मा लोकनाथ न्यौपाने, ७ मा मा पदम गाहा, १५ मा शिव राना, १६ मा कृष्णप्रसाद पौडेल, र १७ मा ज्ञानबहादुर रेश्मी कांग्रेसबाट वडाध्यक्ष विजयी भएका हुन्। यस अघि एमालेले जितेका यी वडा अहिले कांग्रेसले खोसेको हो।

त्यस्तै वडा नम्बर १ मा कांग्रेसको बागी बनेका स्वतन्त्र उम्मेदवार नरेन्द्र बस्नेत, २ मा एकिकृत समाजवादीका सुनिल शाक्य र ३ मा माओवादी केन्द्रका विष्णु ढकाल विजयी भएका छन्।

यी वडामा पनि अघिल्लो पटक एमाले विजयी भएको थियो। दुई वटा वडामा भने एमाले विजयी भएको छ। १८ मा गुरुप्रसाद पंगेनी र १९ मा चन्द्रसिंह थापा एमालेबाट वडाध्यक्षमा विजयी भएका हुन्। यी दुई वडामा अघिल्लो पटक कांग्रेस विजयी भएको थियो।

२०७४ को चुनावमा एमालेले बुटवलको मेयर उपमेयर सहित १५ वडा जितेको थियो। कांग्रेसले तीन वटा वडा जितेको थियो।

प्रतिक्रिया दिनुहोस्