बिहीबार र शुक्रबारको मौसम : भारी वर्षा नहुने

काठमाडौं , बैशाख २८  ।  आगामी बिहीबार र शुक्रबार देशैभर आंशिकदेखि सामान्य बदली हुने भएको छ। पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको प्रभाव समेत मिसिएपछि मौसम सक्रिय हुने भएको हो। तर, बिहीबार र शुक्रबार भारी वर्षा भने नहुने जल तथा मौसम विज्ञान विभाग पूर्वअनुमान महाशाखाले जनाएको छ।

आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचन हुन लागेकाले मतदातालाई वर्षा र चट्याङ पर्दा असर पर्नसक्ने बताएको छ। ठुलो बाढी पहिरो जानेगरी भारी वर्षा नहुने भएकाले मतदातालाई असर नपर्ने मौसमविद्हरुले बताएका छन्।

बिहीबार बिहान प्रदेश एकसहित मधेस प्रदेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् मञ्जु बासीले बताइन। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने प्रक्षेपण गरिएको छ।

यस्तै बिहीबार राती प्रदेश नम्बर एक, मधेस प्रदेश र बाग्मती प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने मौसमविद् बासीले बताइन्। गण्डकी र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

यस्तै शुक्रबार दिउँसो प्रदेश नम्बर एक, मधेस प्रदेश र बाग्मती प्रदेशमा सामान्य बदली भई आंशिकदेखि सामान्य बदली हुने मौसमविद् बासीले बताइन। अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षा हुने प्रक्षेपण गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्