दुई उम्मेदवारको मृत्यु

काठमाडौं , बैशाख २७ । शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका दुई उम्मेदवारको मृत्यु भएको छ ।

कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपप्रमुखका लागि उम्मेदवारी दर्ता गरेकी शुभावती कुर्मीको निधन भएको छ ।

निवर्तमान उपप्रमुख समेत रहेकी उहाँलाई हृदयघात भएको थियो । कुर्मीको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो ।

उम्मेदवारको निधन भएपछि महाराजगन्ज नगरपालिकाको आज निर्वाचनका सबै कार्यक्रम स्थगित भएको जिल्ला निर्वाचन अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिनुभयो ।

यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका लागि एमाले उम्मेदवार लवरु चौधरीको पनि निधन भएको छ ।

चुनाव प्रचारकै क्रममा बिरामी परेपछि उहाँलाई उपचारका लागि २ पटक नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियो ।त्यहाँ पनि उपचार हुन नसेकेपछि थप उपचारको लागि काठमाडौंको शिक्षण अस्पताल भर्ना गरिएको थियो ।

गएराति उनको मृत्यु भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले बताउनुभयो । उहाँले यसअघिको कार्यकाल तुलसीपुर १७ को वडा सदस्य भएर काम गर्नुभएको थियो ।

आयोगले वैशाख ३० मै ती स्थानीय तहमा चुनाव गर्ने वा पछि गर्ने भन्नेबारे निर्णय गर्न बाँकी रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्