भारतीय निगमले नेपाललाई नयाँ मूल्य पठायो, पाँच अर्ब १९ करोड रूपैयाँ घाटा
काठमाडौं, १९ बैशाख। भारतीय आयल कर्पोरेसन (आइओसीले) नेपाल आयल निगमलाई नयाँ मूल्य पठाएको छ। नेपाल आयल निगमले आइतबार विज्ञप्ति जारी गर्दै आइओसीले नयाँ मूल्य पठाएको जानकारी दिएको हो। नयाँ मूल्य के(कति घटबढ गरेर पठाइएको छ भन्नेबारे भने निगमले विज्ञप्तिमा उल्लेख गरेको छैन।
भारतले नयाँ मूल्यसूची पठाए पनि नेपालमा इन्धनको मूल्य हेरफेर हुन्छ कि हुँदैन भन्नेबारे पनि अहिलेसम्म निगमले निर्णय गर्न सकेको छैन।
विज्ञप्तिका अनुसार आइओसीले नयाँ मूल्य पठाएसँगै निगमलाई आगामी १५ दिनमा करिब पाँच अर्ब १९ करोड रूपैयाँ घाटा हुने देखिएको छ।
आइओसीले पठाएको मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर २३.०२ रूपैयाँ र डिजेलमा ४०.१३ रूपैयाँ घाटा हुने देखिएको छ। हाल पेट्रोल लिटरको एक सय ६० र डिजेल एक सय ४३ रूपैयाँमा बिक्री भइरहेको छ।
वैशाख १८ गतेको नयाँ मूल्यअनुसार निगमलाई पेट्रोल खरिद लागत भने १८३।०२ रूपैयाँ र डिजेलको १८३।१३ रूपैयाँ पर्छ।
त्यस्तै प्रतिसिलिन्डर एक हजार ६ सयमा बिक्री भइरहेको खाना पकाउने एलपी ग्यासमा निगमलाई एक हजार पचास रूपैयाँ १८ पैसा घाटा हुने निगमले जनाएको छ। ग्यासको खरिद लागत २६५०।१८ रूपैयाँ छ।
यसअघि वैशाख ३ गते आइओसीले पठाएको भन्दा आइतबारको मूल्यमा निगमलाई पेट्रोल र डिजेलमा घाटा बढेको देखिएको छ। त्यस्तै एलपी ग्यासमा पनि घाटा बढेको छ।
निगमलाई मट्टीतेल, हवाई इन्धनमा भने नाफा छ। मट्टीतेलमा लिटरको २।८१ रूपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ १२।६४ रूपैयाँ र बाह्यतर्फ ६४।६९ रूपैयाँ नाफा रहेको निगमले जनाएको छ।
मट्टीतेल र हवाई इन्धनको नाफा पनि वैशाख ३ को तुलनामा कम भएको छ। अब मट्टीतेलको खरिद लागत १४०।१९ रूपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फको १४३।३६ रूपैयाँ र बाह्यतर्फको १२३। ७८ रूपैयाँ रहेको विज्ञप्तिमा उल्लेख छ।
वैशाख ३ को मूल्यअनुसार निगमलाई १५ दिनमा करिब तीन अर्ब ७४ करोड रूपैयाँ घाटा हुने देखिएको थियो। वैशाख १८ गते आइतबार नयाँ मूल्य आएसँगै अब घाटा पाँच अर्ब नाघ्ने देखिएको हो।
युक्रेनमाथि रूसी आक्रमणपछि अन्तर्राष्ट्रिय तेल बजारमा ठूलो प्रभाव परेको छ। कच्चा तेलको मूल्य उकालो लागेसँगै पेट्रोल लगायत इन्धनको भाउ बढेको हो। अर्कातर्फ आयल निगम पहिल्यैदेखि घाटामा चलिरहेको थियो। त्यसैले अहिले नेपाली बजारमा इन्धनको भाउ छोटो समयमै धेरै बढिरहेको छ।
आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद गर्दैन। आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र(पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ।
आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ। लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ।
त्यसपछि आयल निगमले पेट्रोलियम आयात गरेबापत् सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ। यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ।
प्रतिक्रिया दिनुहोस्