श्रीलंकाको अर्थतन्त्र देखाएर नेपालमा डर पैदा गर्ने काम भइरहेको छ : सञ्चारमन्त्री कार्की

काठमाडौं, बैशाख १३ । सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले श्रीलंकाको आर्थिक संकट देखाएर नेपालमा डर पैदा गर्ने काम भइरहेको आरोप लगाएका छन् ।

बजेटको तयारीबारे छलफल गर्न अर्थमन्त्री जनार्दन शर्माले बोलाएको बैठकमा उनले यस्तो बताएका हुन् ।

पछिल्लो समय नेपालको अर्थतन्त्रमा देखिएको संकट बढ्दै गए श्रीलंकाको जस्तो आर्थिक महासंकट आउन सक्ने भन्दै विज्ञहरुले गरिरहेको विश्लेषणप्रति लक्षित गर्दै उनले यस्तो बताएका हुन् ।

‘यहाँ श्रीलंकाको अर्थतन्त्रलाई देखाएर डर पैदा गर्ने काम भइरहेको छ,’ छलफलमा उनले भने, ‘यस्ता कुरालाई चिर्दै देशको अर्थतन्त्रलाई नयाँ दिशा दिने गरी बजेट आउनुपर्छ ।’

कार्यक्रममा मन्त्री कार्कीले आगामी आवको बजेटले ठोस विषयवस्तुमात्रै समेट्नु पर्ने र आर्थिक विकास केन्द्रित हुनुपर्ने सुझाव समेत दिएका छन् ।

यता नेपालको अर्थतन्त्र संकट तर्फ गइरहेको भन्ने हल्ला भने पछिल्लो समय खुबै चलेको थियो । यस्तो समाचार बाहिर आइरहदा मन्त्री कार्कीले भने यस्तो टिप्पण्णी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्