कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं , बैशाख ११ । कांग्रेसले स्थानीय तह निर्वाचनका लागि तयार पारेको घोषणापत्र आज  सार्वजनिक गर्ने भएको छ ।

कांग्रेसले लोकतन्त्र दिवसको अवसर पारेर महामन्त्री गगन थापा संयोजकत्वको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले तयार गरेको घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

समिति सदस्य अजयबाबु शिवाकोटीका अनुसार घोषणापत्र पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्ने कार्यक्रम छ । उनका अनुसार घोषणापत्रमा सामाजिक सुरक्षा, स्वास्थ्य शिक्षाजस्ता विषयलाई विशेष प्राथमिकतामा राखिएको छ ।

त्यस्तै, घोषणापत्रमा कांग्रेसले गर्ने र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले नगर्ने कामलगायतलाई समेत समेटिएको छ ।

‘घोषणपत्र निर्माणको तयारी पूरा भएको छ,’ उनले भने, ‘घोषणापत्रमा कांग्रेसको आवश्यकता महसुस हुने गरी सामाजिक सुरक्षा, स्वास्थ्य, शिक्षाजस्ता विषयलाई विशेष प्राथमिकतामा राखिएको छ । लोकतन्त्र दिवसमा सार्वजनिक गर्ने यसअघिको तालिकाअनुसार नै सार्वजनिक गरिनेछ ।’

घोषणापत्रमा समग्र स्थानीय सरकारलाई हेर्ने कांग्रेसको दृष्टिकोण, स्थानीय सरकारलाई सबल बनाउन प्रतिबद्धता, सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा जनजीविकासँग सम्बन्धित विषय तथा कांग्रेसका प्रमुख रहेका पालिकाहरूका उत्कृष्ट अभ्यासलगाायतका विषयलाई समेटिएको छ ।

कांग्रेसले स्थानीय तहले सम्बन्धित स्थानीय तहको आवश्यकता र महत्वलाई हेरेर घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ । कांग्रेसले क्षेत्रगत विज्ञहरूलाई समेत समेटेर घोषणापत्र तयार गरिएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्