प्रतिनिधिसभाको उपसभामुखमा भुसाल र तुम्बाहाम्फेको उम्मेदवारी

काठमाण्डौं । प्रतिनिसभाको उपसभामुख पदमा दुईजनाको उम्मेदवारी परेको छ ।

वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका सांसद डा. शिवमाया तुम्बाहाम्फेले उम्मेदवारी दिएकी छन् । उनको प्रस्तावकमा माओवादी केन्द्रका सांसद देव गुरुङ छन् भने समर्थकमा एमालेका सांसद रवीन्द्र अधिकारी रहेका छन् ।

प्रतिनिधिसभाको सभामुखमा भने माओवादी केन्द्रका कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भइसकेका छन् ।

यस्तै, नेपाली कांग्रेसको तर्फबाट सांसद पुष्पा भुसालले प्रतिनिधिसभाको उपसभामुखमा उम्मेदवारी दिएकी छन् । उनको प्रस्तावकमा डिला संग्रौला छिन् भने समर्थकमा देवेन्द्रराज कँडेल रहेका छन् ।

कांग्रेसले सभामुखमा भने उम्मेदवारी दिएको थिएन ।

उपसभामुखको निर्वाचनका लागि बिहीबार बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी मनोनयनपत्र दर्ताको समय निर्धारण गरिएकामा तुम्बाहाम्फे र भुसालको उम्मेदवारी परेको हो ।

उपसभामुखका दुवै उम्मेदवार समानुपातिक सांसद हुन् । दुईजनाको उम्मेदवारी परेपनि वाम गठबन्धका तर्फबाट उम्मेदवार बनेकी तुम्बाहम्फेको पक्षमा प्रस्ट बहुमत देखिएको छ ।

संघीय संसद सचिवालयले शुक्रबार दिउँसो १ बजे उपसभामुखको निर्वाचन तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्