काठमाडौंमा दुर्घटनाग्रस्त युएस–बाङ्ला विमानको मूल्य ३ करोड ३२ लाख अमेरिकी डलर

काठमाडौं  । त्रिभुवन विमानस्थलमा गत सोमबार दुर्घटनाग्रस्त युएस–बाङ्ला विमान सन् २००१ मा क्यानडामा निर्माण भएको बंगलादेशी अधिकारीले जनाएका छन्। विमानको उडान क्षमता ८० हजार घन्टा भएको पनि उनीहरूले बताएका छन्। बंगलादेश उड्डयन प्राधिकरणका प्रमुख एम नइम हसनले दिएको जानकारी अनुसार दुर्घटना हुँदा विमानले १९ हजार घन्टा मात्र यात्रा गरेको थियो।

‘बम्बाडियर डास–८ क्यु–४००’ नामक यो विमान सन् २००१ मा निर्माण भएको थियो’, नइमले ढाकामा आयोजित पत्रकार सम्मेलनमा विमान धैरे पुरानो पनि नभएको र उडाउन अयोग्य पनि नरहेको प्रतिक्रिया दिएका छन्। त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त विमानको हाल बजार मूल्य ३ करोड ३२ लाख अमेरिकी डलर छ।

विमान उडाएका क्याप्टेन अबिद सुल्तानको प्राधिकरणका प्रमुख नइमले बचाउ गरेका थिए। सुल्तानले सोमबार ढाकाबाट काठमाडौं उड्नुअघि पदबाट राजीनामा दिएका थिए।

उड्डयन नियमावली अनुसार पाइलटले जागिरबाट राजीनामा गरेपनि उनलाई पदमुक्त नगर्दासम्म काम गर्नुपर्ने हुन्छ। दुर्घटनाग्रस्त विमानका कप्तान सुल्तानले लामो समय उडान भरेको भन्ने विषयमा पनि नइमले स्पष्टीकरण दिँदै भने, ‘हामी सबै विषयको सुक्ष्म अध्ययन गरिरहेका छौं। यदि पाइलटले आफ्नो समयभन्दा बढी उडान भरेको थाहा भएमा युएस–बाङ्ला विरूद्ध कडा कारबाही गरिनेछ।’

नेपालले घटनाको अनुसन्धानका लागि ६ सदस्यीय कमिटी गठन गरिसकेको छ। बंगलादेशको पनि तीन सदस्यीय अनुसन्धान टोली काठमाडौंमा छन्।

प्रतिक्रिया दिनुहोस्