मुलुकको घाटा २ खर्ब ५८ अर्ब पुग्यो , यस्तो छ वित्तीय विवरण

काठमाडौँ , चैत २९ । मुलुकको भुक्तानी सन्तुलन अर्थात शोधनान्तर स्थितिको घाटा थप बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ८ महिनाको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको फागुनसम्म मुलुकको भुक्तानी सन्तुलन २ खर्ब ५८ अर्ब घाटामा रहेको छ । माघसम्म यस्तो घाटा २ खर्ब ४७ अर्ब थियो । फागुनमा मात्रै शोधनान्तर स्थिति थप ११ अर्ब घाटामा गएको हो ।

अघिल्लो वर्षको यसै अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब १ करोडले बचतमा रहेको थियो । मुलुकमा भित्रिने र बाहिरिने रकमको अन्तर नै भुक्तानी सन्तुलन हो । भुक्तानी सन्तुलन घाटामा जानु भनेको मुलुकमा भित्रिनेभन्दा बाहिरिने रकम बढी हुनु हो । समीक्षा अवधिमा चालु खाता ४ खर्ब ६२ अर्ब ९३ करोडले घाटामा रहेको छ । चालु खाता घाटा पनि उच्च दरले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ५१ अर्ब ४२ करोडले घाटामा रहेको थियो । त्यस्तै

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा विभिन्न देशबाट नेपालमा ६ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।नेपाल राष्ट्रबैंकका अनुसार २०७८ साउनदेखि फागुनसम्मको अवधिमा उक्त रेमिट्यान्स नेपाल भित्रिएको हो ।

अघिल्लो वर्ष सोही अवधिको तुलनामा नेपाल भित्रने रेमिट्यान्समा १.७ प्रतिशतले कमी आएको राष्ट्रबैंकले जनाएको छ ।अघिल्लो वर्ष २०७७ को सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स ८.७ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्षमा अमेरिकी डलरमा रेमिट्यान्स ३ प्रतिशतले कमी आई ५ अर्ब २८ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स ५ प्रतिशतले बढेको थियो ।

यसवर्षको फागुनसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख २७ हजार ९ सय पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८२.९ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या फागुन महिनासम्म २४०.९ प्रतिशतले वृद्धि भई १ लाख ७८ हजार २६२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.२ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २.० प्रतिशतले कमी आई रु.७०४ अर्ब ३३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७.२ प्रतिशतले बढेको थियो ।

आयात/निर्यात

आर्थिक वर्ष २०७८/०७९ को ८ महिनाको अवधिमा आयात ३८.६ प्रतिशत र निर्यात ८२.९ प्रतिशतले बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ८ महिनाको वित्तीय स्थितिसम्बन्धी समीक्षा रिपोर्टमा यस्तो देखिएको हो। आठ महिनामा कुल वस्तु निर्यात ८२.९ प्रतिशतले वृद्धि भई रु १४७ अर्ब ७५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ७.८ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १०४.२ प्रतिशत र २९.१ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात ११.० प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो, ऊनी गलैँचा लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, जडीबुटी, तार, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।

यस्तै आर्थिक वर्ष २०७८/७९ को आठ महिनामा कुल वस्तु आयात ३८.६ प्रतिशतले वृद्धि भई रु १३०८ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २.१ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २८.१ प्रतिशत, ३६.७ प्रतिशत र ७५.४ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, कच्चा सोयाविन तेल, सुन लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ कन्चनपुर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ को आठ महिनामा कुल वस्तु व्यापार घाटा ३४.५ प्रतिशतले वृद्धि भई रु ११६० अर्ब ९९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १.६ प्रतिशतले बढेको थियो ।

यस्तै, आयात अनुपात ११.३ प्रतिशत पुगेको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.६ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु १४७ अर्ब ३ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु १२१ अर्ब ३६ करोड बराबरको भएको थियो ।

विदेशी विनिमय सञ्चिति

सरकारसँग ६.७ महिनाको आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । मंगलबार राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८–०७९ को ८ महिनाका समीक्षा रिपोर्टमा असार मसान्तमा रु.१३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले कमी आएपनि अझै सो समयका लागि पुग्ने अवस्था रहेको औंल्याइएको हो । बैंकका अनुसार फागुन मसान्तमा रु.११७१ अर्ब डलर विदेशी सञ्चिती रहेको छ ।

यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड डलर रहेकोमा २०७८ फागुन मसान्तमा १८.५ प्रतिशतले कमी आई ९ अर्ब ५८ करोड कायम भएको बैंकको भनाइ छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा रु.१२४४ अर्ब ६३ करोड रहेकोमा फागुन मसान्तमा १८.२ प्रतिशतले कमी आई रु.१०१८ अर्ब ५ करोड कायम भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकको भनाइ छ । फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (अघिल्लो आर्थिक वर्षको), कुल आयात र विस्तृत मुद्रा प्रदायकसँग अनुपातहरु क्रमशः २७.४ प्रतिशत, ५५.६ प्रतिशत र २२.० प्रतिशत रहेको छ । २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्