प्रधानमन्त्री ओली सरकारलाई पूर्णता दिने तयारीमा : गृहकार्य यसरी अगाडी बढ्दै छ !

काठमाडौं । राष्ट्रपति र सभामुख निर्वाचन सकिएसँगै प्रधानमन्त्री केपी ओली सरकारलाई पूर्णता दिने तयारीमा जुटेका छन्।

दुई दिनयता प्रधानमन्त्रीले सरकारको सहयात्री दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल बढाएका छन्।

प्रधानमन्त्रीले सरकारमा आउन तयार संघीय फोरम र सरकारलाई समर्थन गरेको राजपाका नेताहरूसँग पनि औपचारिक–अनौपचारिक छलफल जारी राखेका छन्।

प्रधानमन्त्री ओलीले बुधबार पनि माओवादी अध्यक्ष दाहालसँग बालुवाटारमा लामो संवाद गरेका थिए। दुवै नेताबीच मंगलबार पनि सरकार विस्तारमा केन्द्रित छलफल भएको राष्ट्रपति चुनावमा मतदान गर्न नयाँ बानेश्वरस्थित संसद् भवन पुगेका ओली–दाहाल दुवैले स्विकारेका थिए।

फागुन ३ मा प्रधानमन्त्री भएका ओलीको मन्त्रिमण्डल अहिलेसम्म सात सदस्यीय मात्र छ। एमाले उपमहासचिव विष्णु पौड्यालका अनुसार अहिले प्रधानमन्त्रीको ध्यान सरकारलाई पूर्णता दिनमा लगाएका छन्। ‘प्रधानमन्त्री अब सरकारलाई पूर्णता दिने छलफलमा जुट्न थाल्नुभएको छ’, पौड्यालले भने, ‘राजपा र संघीय फोरम दुवै दललाई पनि सरकारमा सहभागी गराउन प्रधानमन्त्रीले छलफल गर्नुभएको छ। छलफल सकारात्मक छ। अब धेरै दिन पर्खनुपर्दैन, एक÷दुई दिनमै सरकारले पूर्णता पाउँछ।’, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रतिक्रिया दिनुहोस्