अर्थतन्त्रको अवस्था भयावह भइसकेको छैन : राष्ट्र बैंक, चनाखो बन्नु पर्नेमा जोड

काठमाडौँ , चैत २४ । नेपालको अर्थतन्त्रको अवस्था भयावह अवस्थामा पुगेको समाचार पछिल्लो समय आइरहेका छन् तर यता नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले नेपालको अर्थतन्त्रको अवस्था भयावह नभएको दाबी गरेका छन् ।

रिपोर्टर्स क्लबले बिहीबार काठमाडौँमा गरेको साक्षात्कारमा उनले अहिलेको अवस्थामा अर्थतन्त्र भयावह अवस्थामा नपुगेको उनले बताएका हुन् । अर्थतन्त्रका आधार कमजोर नरहेको भन्दै अहिले देखिएका दबाबलाई पनि भोलिका दिनमा सम्बोधन गर्न सकिने उनको भनाइ रहेको छ ।

प्रवक्ता डा। गुणाकर भट्टले नेपालको मुद्रा स्फिति बढेको बताए । शोधान्तरण स्थिति, नेपालबाट कति रकम बाहिर गयो र नेपालमा कति रकम बाहिरबाट आयो रु भन्ने कुरा हेर्दा शोधनान्तर स्थिति २४७ अर्बले घाटामा रहेको उनले बताए ।

भट्टले गत वर्षमात्रै नेपालले ५० अर्बको चामल आयात गरेको तथ्यांक उल्लेख गर्दै यो वर्षको ८ महिनामात्रै हेर्दा ३७ अर्बको चामल आयात गरेको जानकारी दिए । औषधिलगायतका अत्यावश्यक वस्तु आयात गर्न पनि विदेशी विनिमय सञ्चिति जतन गर्नुपर्ने उनको भनाई छ ।

अहिलेको मूल्यवृद्धिले हामीले पेट्रोलियम पदार्थको उपयोगमा अलिकति किफायती बन्नुपर्छ भन्ने देखाएको र विदेशी विनिमय सञ्चितिमा चनाखो हुनुपर्ने उनले बताए । हिजो मात्रै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पनि मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण भएपनि श्रीलंकाको अवस्थामा पुग्ने अवस्था नभएको बताएका थिए ।उपाध्यक्ष ढकालले अहिले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण रहेकाले यो चुनौती सामना गर्न अर्थतन्त्रलाई चलायमान बनाउने गरी नीजि क्षेत्रले काम गर्न आवश्यक रहेकोमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्