मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण भएपनि श्रीलंकाको अवस्थामा पुग्ने अवस्था छैन : चन्द्र ढकाल
काठमाडौं, चैत २३ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण भएपनि श्रीलंकाको अवस्थामा पुग्ने अवस्था नभएको बताएका छन् ।
बुधबार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् ।उनले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा भएपनि श्रीलंकाको अवस्थामा भने नपुग्ने औंल्याए ।
उपाध्यक्ष ढकालले अहिले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण रहेकाले यो चुनौती सामना गर्न अर्थतन्त्रलाई चलायमान बनाउने गरी नीजि क्षेत्रले काम गर्न आवश्यक रहेकोमा जोड दिए ।
त्यस्तै उपाध्यक्ष ढकालले अहिलेको अर्थतन्त्रको मुख्य समस्या तरलता अभाव भएको बताए । उनले तरलता अभावको कारण बैंकहरुले तरलता सहज बनाउनको लागि निक्षेपको ब्याजदर बढाए पनि निक्षेप बढ्न नसकेको दाबी गरे । उपाध्यक्ष ढकालले बैंकहरुले निक्षेपको ब्याजदर बढाउँदैमा निक्षेप बढ्दैन भन्ने पछिल्लो उदाहरण भएको बताए । उनले बैंकहरुमा जबसम्म व्यवसायले थाम्न सक्ने ब्याजदर हुँदैन तबसम्म व्यवसायीक गतिविधिहरु अगाडि बढ्न नसक्ने दाबी गरे ।
हामीले स्वदेशमा उत्पादित वस्तुहरुको जबसम्म उपभोग गर्दैनौ तबसम्म रोजगारी सृजना र आर्थिक समृद्धि हुन नसक्ने उनको भनाइ रहेको छ । ।
त्यस्तै पूर्व उद्योग तथा वाणिज्य आपूर्ति राज्यमन्त्री मोती दुगडले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण भएको अवस्थामा पनि सरकार गम्भिर नभएको बताए । उनले अहिलेको गठबन्धन सरकारले नीजि क्षेत्रसँग कुनै छलफल समेत गर्न नसकेको आरोप लगाए ।
सरकारले पछिल्लो समय उद्योगी व्यवसायीहरुको मनोवल खस्काउने काम गरेको दुगडले बताए । उनले उद्योगी व्यवसायीको खस्केको मनोवल कसरी बढाउने भन्ने विषयमा सरकार गम्भिर नभएको आरोप लगाए । पूर्व राज्यमन्त्री दुगडले सरकारले नीजि क्षेत्रलाई हेपेर अपराधीको जस्तो व्यवहार गरेको बताए ।
यता बजारमा तरलताको अभाव छ । सरकार यहि गतिमा जाने हो भने मुलुकको अर्थतन्त्र समाप्त हुन सक्ने अवस्था पुग्ने देखिन्छ । यसैले समयमै सचेत र सजग हुन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्