गुणस्तर चिह्न नलिई ४८ ग्यास उद्योग सञ्चालनमा, गुणस्तर चिह्न लिन आनाकानी

काठमाडौँ । गुणस्तर चिह्न नलिई ४८ ग्यास उद्योग सञ्चालनमा रहेका छन् । नेपालमा सञ्चालनमा रहेका ५५ ग्यास उद्योगमध्ये ४८ ग्यास उद्योगले अहिलेसम्म पनि नेपाल गुणस्तर प्रमाणपत्र चिह्न लिएका छैनन् ।

सरकारले ग्यास उद्योगलाई अनिवार्य रुपमा नेपाल गुणस्तर प्रमाणपत्र चिह्न लिएर सञ्चालन गर्न पटक पटक आग्रह गरेपनि उक्त कम्पनीहरुले आनाकानी गर्दै आएका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागले पुसमा नेपाल गुणस्तर प्रमाणपत्र चिह्न नलिएका ग्यास उद्योगमाथि कारबाही चलाएपछि दुई महिनाभित्र लिने भनेपनि अहिलेसम्म व्यवसायीले कुनै पहल गर्न आएको छैन।

कारबाही अभियान सञ्चालन गरेपछि तीन ग्यास उद्योगले प्रमाणपत्र चिह्न लिएका छन् भने २० वटा कम्पनी लिने चरणमा रहेको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । सम्पूर्ण ग्यास उद्योगलाई गुणस्तर प्रमाणपत्र दिने गरी विभागले सबै उद्योगसँग आवश्यक कागजात मगाइरहेको उनको भनाइ छ ।

गुणस्तर प्रमाणपत्र नलिई सञ्चालन गरेको व्यापक जनगुनासो आएपछि विभागले यही पुसमा विभिन्न ठाउँका १० उद्योगको अनुगमन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्