तीन एआईजी बढुवाको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर
काठमाडौं, चैत १७ । नेपाल प्रहरीको अतिरिक्त महनिरीक्षक (एआईजी) का लागि भएको बढुवाको निर्णयमा असन्तुष्ट डीआईजीहरूले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।
असन्तुष्ट डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले विहीबार रिट दर्ता गरेका हुन् । निवेदकले बढुवासम्बन्धी निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश मागेका छन् ।
बढुवा समितिले गरेको सिफारिसलाई लोक सेवा आयोगका प्रमुख माधव रेग्मी अध्यक्ष रहने उजुरी सुन्ने समितिले बुधबार साँझ सदर गरेको थियो । उजुरी सुन्ने समितिले सदर गरेसँगै मन्त्रिपरिषद्को विहीबारको बैठकले सिफारिस गरिएका वसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्रप्रताप धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
प्रहरी प्रवक्ता विष्णुकुमार केसीले लिखित जानकारी पाएलगत्तै बढुवा भएका डीआईजीहरूलाई दर्ज्यानी चिन्ह लगाउने काम अगाडि बढ्ने बताए ।
प्रतिक्रिया दिनुहोस्