ट्राफिक जाममुक्त नेपाल घोषणा गर्नेगरी कार्ययोजना अघि बढाउ गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले जनताले महसुस गर्नेगरी उपत्यकाको ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन निर्देशन दिएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुखलगायतका सरकारी पदाधिकारीलाई आज गृह मन्त्रालयमा बोलाएर तत्काल सडक जाम हटाउने कार्ययोजना ल्याउन गृहमन्त्री थापाले निर्देशन दिए ।

उनले ट्राफिक व्यवस्थापन गर्न तीन महिना, छ महिना कति सयम लाग्छ सोहीअनुरुपको खाका बनाउन सरकारी अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

उनले भने, “विद्युत्भार कटौतीमुक्त नेपाल घोषणा गरिएजस्तै ट्राफिक जाममुक्त नेपाल घोषणा गर्नेगरी कार्ययोजना अघि बढाउनुहोस् ।”

गृहमन्त्री थापाले सडक, पुल निर्माणमा ढिलासुस्ती हुनुमा भ्रष्टाचार र अनियमितता जोडिएको भन्दै त्यसको छानबिन हुन आवश्यक रहेको बताए ।
उनले भने , “सडक, पुल बनाउन ठेक्का लिने तर समयमै सम्पन्न नगर्नेलाई समेत कारबाहीको दायरामा ल्याउनुहोस् ।”

उनले यातायात क्षेत्रमा ‘सिण्डकेट’को दबदबा रहेको भन्दै त्यसको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

जनताको अभिलाषा सुरक्षित यात्रा’ भन्ने नारासहित सडक दुर्घटनालाई न्यूनीकरण गर्ने अभियान शुरु गर्न आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्