२९.९८ अंक घटेर २५४२.२८ विन्दुमा पुगेको
काठमाडौं, १४ चैत । शेयर बजार सोमबार पनि ओरालो लागेको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार ४१.४३ अंक घटेर बन्द भएको नेप्से, यस दिन २९.९८ अंक घटेर २५४२.२८ विन्दुमा पुगेको छ ।
यस दिन सेन्सेटिभ इण्डेक्स ५.०२ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९२ अंक घटेको छ।
यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन करिब ५ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २ अर्ब ५४ करोड ५३ लाख रुपैयाँ बराबरको छ । २३१ स्टकको ४२ हजार ७१२ पटकको कारोबारमा ४९ लाख ५८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेप्से ओरालो लागेपनि दुई स्टकको मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ्ग नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, आजदेखि दोस्रो बजारमा कारोबार शुरु भएको नेष्डो समृद्ध लघुवित्तको मूल्य यस दिन ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको आइसीएफसी फाइनान्स, सानिमा लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, ग्रीनलाइफ हाइड्रोपावर, प्रुडेन्सियल इन्स्योरेन्स, घलेम्दी हाइड्रो र प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन जीवन विकास लघुवित्त शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड २४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अपि पावर कम्पनीको ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
सोमबार १३ उपसमूहमध्ये १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त, जीवन बीमा, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
बजार धेरै माथि जान नसकेको बेलामा धेरैमा त्रसित मानसिकता हावी भएको छ । सोही कारण थोरै नाफा हुने बित्तिकै सेयर बेचिहाल्ने रणनीति धेरैमा देखिन्छ । यस्तो बेला प्राविधिक विश्लेषणका लागि प्रयोग गरिने रेखाहरुलाई आधार बनाउनेहरु पनि उत्तिकै हावी भएका छन् । जसका कारण पनि बजार छिटोछिटो तलमाथि गरिएको आँकलन भइरहेको छ ।
हाम्रो बजार झन्डै ८ महिनायतादेखि करेक्सन फेजमा छ । यसमा बीचमा उतारचढावहरु भइरहे पनि यसअघि तय भएको ३२ सय विन्दुको उचाईलाई बजारले पार गर्न सकेको छैन । नयाँ बुल रन तयार हुनका लागि नेप्सेले यही ३२ सय विन्दुलाई पार गरेर माथि जानुपर्ने हुन्छ । स्थानीय निकाय निर्वाचन नजिकिंदैछ । चुनावमा खर्चको गतिले तेजी लिन्छ ।
तथापि, बजारले अहिलेसम्म यो न्यूजलाई पनि सकारात्मक रेन्सपोन्स दिन सकेको छैन । अहिले चैतको मध्य सुरु भइसकेको छ । अब विस्तारै सरकारी खर्चहरुमा तेजी आउनेछ । यस्तै, वैशाख लागेपछि तेस्रो त्रैमासको रिपोर्ट पनि आउन थाल्नेछ । यी माहोलहरुले बजारलाई विस्तारै सुधारको मार्गमा लैजाने अपेक्षा गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्