लगानी बोर्ड र महासंघबीच लगानी भित्र्याउने समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । लगानी बोर्डको कार्यालय र उद्योग बाणिज्य महासंघबीच स्वदेशी पुँजी जुटाउने र बिदेशी लगानी भित्र्याउने बिषयमा सहकार्य गर्ने सम्बन्धि समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरको उपस्थितिमा लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत शुशिल भट्ट र उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आइतबार बिहान हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा उपस्थित लगानी बोर्डको उपाध्यक्षसमेत रहेका अर्थमन्त्री शर्माले ठूला परियोजनामा लगानी जुटाउनु आवश्यक रहेको बताउँदै प्रतिफल योग्य परियोजना छनौट गर्न सुझाव दिए । उनले लगानी प्रतिबद्धता हुने तर नआउने प्रवृत्तिलाई सुधार गर्न बोर्डको संचरना, ऐन, कानून, काम गर्ने व्यवहारलगायतमा शंशोधन गर्नुपर्ने बताए । ठूला परियोजनाका लागि पुँजी जुटाउन स्वदेशमै पर्याप्त पैसा भएको भन्दै उनले जनताको विश्वास जित्ने परियोजना छनौट गर्नुपर्ने बताए ।

‘अहिले कुनै कम्पनीले प्राथमिक सेयर निस्काशन (आइपिओ) गर्यो भने माग भन्दा धेरै ठूलो रकमको आवेदन भइरहेको देखिन्छ । यो भनेको नेपालीसँग पैसा त छ तर प्रतिफल दिने उपयुक्त परियोजना नहुँदा लगानी जुटिरहेको छैन भन्ने हो’ उनले भने, ‘त्यसैले स्वदेशबाटै पँुजी जुटाउन पनि जनताले प्रतिफल दिन सक्छ भन्ने विश्वासयोग्य परियोजना छनौटतर्फ ध्यान दिनुहोला ।’

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत शुशिल भट्टले ३ खर्बको परियोजना निर्माण प्रकृयामा गएको र केहीले उत्पादनसमेत दिन थालेको जानकारी दिएका थिए । उनले बुझाइृमा एकरुपता र सोचमा स्पष्टता कायम गराएर लगानीकर्तासँग सहकार्य गर्ने बताए । अहिले परियोजनाबारे अध्ययन गर्ने र थप सहजीकरण गर्ने समय छोट्याएको जानकारी दिएका थिए ।

कार्यक्रममा उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बोर्ड र निजी क्षेत्रको सहकार्य ऐतिहासिक भएको बताए । उनले चाँडै भारत र चीनमा लगानी सम्मेलन हुन लागेको र त्यहाँ उपस्थित भएर नेपालमा लगाानीका लागि आह्वान गर्ने जानकारी दिए । ‘बिदेशी लगानी सहज बनाउन हामीले गर्नुपर्ने प्रयास गर्नेछौं । सरकारले बारम्बार भोग्दै आएको शोधानान्तर घाटा र तरलता अभावको समस्याालाई सम्बोधन गर्नेगरी बिदेशी लगानी भित्र्याउन यो एमओयूले थप सहज बनाउने’ गोल्छाले भने ।

प्रतिक्रिया दिनुहोस्