कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै : शर्तसहित चुनावी तालमेलको निर्णयको सम्भावना

काठमाडौं , चैत ११ । सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज  बस्दै छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्ने छ । आजको बैठकले आगामी स्थानीय तह निर्वाचनका लागि टिकट वितरणका लागि कांग्रेसले संसदीय समिति गठन गर्ने भएको छ ।

पार्टी विधानअनुसार निर्वाचन लड्ने उमेदवार तय गर्ने र टिकट वितरण गर्ने अधिकार संसदीय समितिलाई मात्र छ । बैठकमा स्थानीय तह निर्वाचनको तयारी अर्को मुख्य तीन एजेण्डा रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकमा स्थानीय तह निर्वाचनका लागि ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको पनि समीक्षा हुनेछ ।

यस्तै बैठकले स्थानीय तह निर्वाचनमा टिकट वितरणका लागि केन्द्रीय संसदीय समिति गठन पनि गर्ने एजेण्डा तय गरिएको छ । मुख्य सचिव पौडेलले विविध शीर्षकमा समसामयिक विषयमा छलफल हुने जानकारी दिए । एक पदाधिकारीले केन्द्रीय कार्यसमिति बैठकले तल्लो तहसम्मै चुनावी तालमेलको निर्णय गर्ने जानकारी दिएका छन् ।

उनका अनुसार बैठकले गठबन्धनमा नरहेका दलसँग तालमेल गर्न नपाउने शर्तसहित चुनावी तालमेलको निर्णय गर्ने सम्भावना छ । शर्तसहित चुनावी तालमेलका लागि निणर्य नगरिए गठबन्धनमा रहेका दलहरु एमालेसँग पनि मिल्न सक्नेमा कांग्रेस सशंकित देखिन्छ । किन शर्त राखियो भन्ने प्रश्नमा ती नेताले भने, ‘निःशर्त छोडिदियो भने त एमालेसँग गठबन्धन गरिदिन्छन् ।’

कांग्रेसका अर्का एक पदाधिकारीले पनि आगामी केन्द्रीय कार्यसमिति बैठकबाट सत्ता गठबन्धनमा रहेका दलहरूका बीचमा चुनावी तालमेलका विषयमा निणर्य गरिने जानकारी दिए । ‘चुनावी गठबन्धनको निणर्य लिन्छौं । कहाँ कसरी गर्ने भनेर केन्द्रले सम्बन्धित कार्यसमितिलाई नै निर्णयको जिम्मेवारी दिन्छौं’, उनले सुनाए । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाका विश्वासपात्र एनपी साउदले पनि आगामी बैठकबाट चुनावी तालमेलका बारेमा सैद्धान्तिक निर्णय हुने बताए ।

प्रतिक्रिया दिनुहोस्