राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित, भोलि मात्र सपथ

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् । तर, वाम गठबन्धनकी उम्मेदवार भण्डारी दुई तिहाई बढी मतका साथ राष्ट्रपतिमा निर्वाचित भएकी छन् । राष्ट्रपति भण्डारीले भोलि मात्र सपथ लिने कार्यक्रम रहेको छ ।

भण्डारीले ३९ हजार २७५ मतभार पाइन् भने कांग्रेसको तर्फबाट उम्मेद्धवार बनेकी कुमारी लक्ष्मी राईले ११७३० मतभार पाएकी छन् । निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेशसभाका ५३६ सदस्य मतदाता गरेका थिए । संघीय संसदका ५ र प्रदेशसभाका १४ सदस्यले पनि मतदान गरेनन् ।

त्यस्तै नयाँ शक्ति, नेमकिपा र विवेकशील साझा पार्टीले मतदान नगर्ने निर्णय गरेका थिए । राष्ट्रपति चयनका लागि मंगलबार निर्वाचन भएको थियो । वर्तमान राष्ट्रपति भण्डारीसँगै कांग्रेसकी कुमारी लक्ष्मी राई चुनावी मैदानमा थिइन ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का पाँचजना सांसद अनुपस्थित भएका छन् ।

निर्वाचन आयोगका अनुसार संघीय संसद्का कूल ३३१ सांसदमध्ये डा बाबुराम भट्टराई, जितेन्द्रनारायण देव, प्रेम सुवाल, रमेश यादव र रेशमलाल चौधरी अनुपस्थित हुनुभएको हो ।

यस्तै, प्रदेशसभातर्फका कूल ५४९ प्रदेशसभा सदस्यमध्ये ५३६ जनाले मतदान गरेका थिए । कूल १३ जना प्रदेशसभा सदस्य मतदान प्रक्रियामा अनुपस्थित भएका थिए । मतदान प्रक्रियामा अनुपस्थित हुने प्रदेशसभा सदस्यमा कृष्णबहादुर चौधरी, धनमाया लामा पोखरेल, प्रल्हाद गिरी, प्रेम तामाङ, विराजभक्त श्रेष्ठ, मनिषकुमार सुमन, रमेश पौडेल, दिन पन्त, शोभा शाक्य, सुरेन्द्र गोसाई, हरिशरण आचार्य, हिमबहादुर शाही र सिर्जना सैँजु हुनुहुन्छ ।

आज बिहान १०ः०० बजेदेखि शुरु भएको राष्ट्रपतिको मतदान प्रक्रिया अपराह्न १५ः०० बजेसम्म चलेको थियो । निर्वाचन आयोगले पहिलोपटक राष्ट्रपति पदका लागि मतदान गराएको हो ।

संघीय संसद् र प्रदेशसभाका सदस्यलाई मतदाता बनाएर निर्वाचन गरिएको यो पहिलो पटक हो । यसअघि राष्ट्राध्यक्षको चयन व्यवस्थापिका–संसद् सदस्यले मात्रै गरिएको थियो ।

संघीय संसद् भवन, नयाँ बानेश्वर परिसरको पूर्वतर्फको खाली स्थानमा संघीय संसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरी मतदान गराइएको थियो ।

राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारीलक्ष्मी राई प्रतिष्पर्धामा हुनुहुन्छ । राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने संवैधानिक व्यवस्था गरिएको हो ।

निर्वाचन व्यवस्थित गर्न सुरक्षा व्यवस्थालाई चुस्त तुल्याउनाका साथै प्रत्येक केन्द्रमा महिला र पुरुषका लागि बेग्लाबेग्लै लामको व्यवस्था गरिएको थियो ।

राष्ट्रपति निर्वाचनमा राष्ट्रियसभाका सदस्य डा युवराज खतिवडा, रामनारायण बिँडारी र विमला राई पौडेलले मतदानमा भाग लिन पाउनुभएन । यस्तै, प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरी पनि प्रहरी हिरासतमा रहेकाले मतदान गर्न पाउनुभएन ।

यसैबीच, अहिले अपराह्न ४ बजेदेखि राष्ट्रपति निर्वाचनको मतगणना शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्