नेपाल र साउदी अरबबीच शिक्षा, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्यको बाटो खुल्यो

काठमाडौं,  चैत्र १ । साउदी अरबका विदेशमन्त्री राजकुमार फैजल बिन फहरान अल साउद र नेपालका परराष्ट्रमन्त्री डा।नारायण खड्काबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्तापछि दुवै देशका परराष्ट्रमन्त्रीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतापछि नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न बाटो खुल्नेछ । साउदी अरब नेपाली श्रमिकका निम्ति प्रमुख गन्तव्य देश हो । करिब चार लाख नेपालीले साउदीमा रोजगारी पाएका छन् ।नेपालको दुईदिने औपचारिक भ्रमणका लागि २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सोमबार साँझ काठमाडौं आइपुगेका हुन् ।

निजी विमान चढेर श्रीलंकाबाट आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्रसचिव भरतराज पौड्याल, नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानी, परराष्ट्र मन्त्रालय र नेपालस्थित साउदी अरबको दूतावासका उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्