नेशनल लाइफ इन्स्योरेन्सको  ३३औं वार्षिक साधारण सभा  सम्पन्न,  बोनस स्वीकृत

काठमाडौं, फागुन २९ ।  नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३३औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।  साधारण सभाले आव. २०७६/७७ का लागि चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर जारी गर्ने र सो बोनस शेयर वापतको कर प्रयोजनका लागि ३ करोड ३९ लाख ८ हजार ८९२ रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गरेको छ ।

साधरण सभालाई सम्बोधन गर्दै कम्पनीकी अध्यक्ष प्रेमा सिंहले कोभिड–१९ को प्रकोप यथावत रहेतापनि जीवन बीमा बजारका लागि राम्रो आधार सिर्जना भएको बताएकी छन् ।

नेपालको बीमा बजारमा आउने दिनहरुमा जोखिम सुरक्षा गर्ने बीमा योजनाहरुको बढी माग हुने आकलन गर्दै उनले आर्थिक समावेशी एवं वित्तीय साक्षरतामा वृद्धि गर्ने सरकारको प्रयासका साथै बढ्दो घरेलु बचत एवं प्रति व्यक्ति आम्दानीमा भएको वृद्धिको कारणले समेत जीवन बीमा क्षेत्रमा थप टेवा पुग्न गएको बताइन् ।

कार्यक्रममा अध्यक्ष सिंहले आव.२०७६/७७ मा कम्पनीको सबै वित्तीय सूचाकांकहरु उत्साहप्रद रहेको बताइन् । उनका अनुसार कुल बीमाशुल्क १५.१२ प्रतिशतले बृद्धि भई ९२६.७४ करोड रुपैयाँ पुगेको छ । जीवन बीमा कोष २४.२९ प्रतिशतले वृद्धि भई ३,३४६ करोड रुपैयाँ पुगेको र कुल लगानी १८.८४ प्रतिशतले वृद्धि भई ३,१८५ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन कम्पनी प्रयासरत रहेको र आव. २०७६/७७ मा वार्षिक औसत प्रतिफल १०.१६ प्रतिशत कायम रहेको उनले बताइन् । साथै कम्पनीको चुक्ता पूँजी समेत सन्तोषजनक रहेको र चालु वर्षको वोनस समेत गरी कूल पूँजी ४ अरब ३ करोड रुपैयाँ नाघेको उनको भनाइ छ ।

कम्पनीको बीमांकीय मूल्यांकन सन्तोषप्रद रहेको र नियामकीय निर्देशन अनुसार फ्यूचर बोनस प्रोभिजनिङमा यथेष्ट ब्यवस्था गरिए पनि बीमितहरुलाई पूर्व वर्ष सरह बोनस दर प्रदान गर्न सफल भएको छ । आगामी वर्षहरुमा समेत बीमितहरुलाई बीमालेखमा यथोचित प्रतिफल उपलब्ध गराउने सिंहले प्रतिबद्धता जनाइन् ।

कार्यक्रममा अध्यक्ष सिंहले आव. २०७७/७८ मा कम्पनीको ब्यवसाय सन्तोषजनक रहेको र प्रथम बीमाशुल्क ७१ प्रतिशतले वृद्धि भई रु.४ अर्ब रुपैयाँ नाघेको बताइन् ।

आगामी दिनमा समेत नेशनल लाइफ इन्स्योरेन्स कम्पनी एक मुख्य बीमकको रुपमा आम सर्व साधारणको जीवन बीमाको आवश्यकता परिपूर्ति गर्नमा अग्रणी भूमीका निर्वाह गर्ने उनले बताइन् ।

साधारण सभाबाट संस्थापक समूह ‘क’ वर्गबााट प्रेमा राज्य लक्ष्मी सिंह, पवनबहादुर पाँडे र कुशल मल्ली सञ्चालकमा निर्वाचित भएका छन् । सर्वसाधारण ‘ख’ वर्गवाट भवानी राणा र कुलदीप शरण सिंह निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्