आजदेखि कांग्रेसको स्थानीय निर्वाचन लक्षित एक महिने चुनावी अभियान शुरु हुँदै

काठमाडौं, फागुन २९ । । सत्तारुढ नेपाली कांग्रेसले आजदेखि आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी एक महिने चुनावी अभियान शुरु गर्दैछ ।

७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले अभियान थालनी गर्नेछन् । कांग्रेसले चुनावी अभियानको नारा ‘घर(घर जाऔं, कांग्रेस जिताऔं’ तय गरेको छ । यस अभियानको क्रममा पार्टीका एजेण्डा, राष्ट्रिय मुद्दामा पार्टीको अडान, सरकारका उपलब्धि लगायतका विषयमा जनतालाई जानकारी दिने र जनताबाट सुझाव समेत लिने नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिएका छन् ।

डा। महतका अनुसार कांग्रेसको नेतृत्वमा हासिल उपलब्धिबारे जनतालाई जानकारी गराउने, एमसीसीबारेका भ्रमलाई चिर्ने र विगतको सरकारका पालामा भएका असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनतासमक्ष राख्ने पनि डा। महतले बताए । चुनावी अभियानका लागि कांग्रेसका प्रतिनिधिहरु जिल्ला(जिल्लामा खटिइसकेका छन् ।

कांग्रेस नेता प्रकाशमान सिंहले अभियानको क्रममा जनताबाट संकलन गरिएका सुझावको आधारमा आगामी चुनावमा गठबन्धन गर्ने कि नगर्ने भनेर निणर्य लिइने बताएका छन् । अभियानका लागि कांग्रेसले देशका ७७ वटै जिल्लाहरुमा केन्द्रीय सदस्यहरु खटाएको छ । कांग्रेसले प्रतिनिधिका रूपमा खटाइएका नेताहरुलाई फागुन २७ गतेभित्र सम्बन्धित जिल्लामा पुग्न निर्देशन दिएको थियो । अभियानका क्रममा तत्कालीन नेकपा नेतृत्वको सरकारको तीन वर्षीय कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण पनि उठाउने तयारी गरेको छ ।

यस्तै कांग्रेसले आफ्नो नेतृत्वमा विगतमा हासिल गरेका राजनीतिक र आर्थिक उपलब्धीहरु पनि जनतासामु विस्तृत राख्ने केन्द्रीय प्रतिनिधिहरूलाई बाँडिएको पत्रमा उल्लेख छ । अभियानका क्रममा कांग्रेसले अमेरिकी सहायता परियोजना एमसीसीबारे जनतामा छरिएका भ्रम समेत चिर्ने बताएको छ । जसका लागि पुस्तिका नै तयार पारिएको छ । जिल्ला गएका केन्द्रीय प्रतिनिधिहरूलाई अभियान सुरु हुन अघि र सुरु भइसकेपछि अनिवार्य रुपमा सवै स्थानीय तहमा पुग्न कांग्रेसले निर्देशन दिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्