राजनीतिले थला पर्दै त्रिवि , उपकुलपतिसहित पदाधिकारीको राजीनामा माग
काठमाडौं , फागुन २४ । त्रिभुवन विश्वविद्यालय राजनीतिले थला परेको छ। प्राज्ञीक थलोमा दलनिकट विद्यार्थी संगठनले राजनीतिक आवरणमा लामो समयदेखि तालाबन्दी गर्दा विश्वविद्यालय थला परेको हो।
विगत दुई महिनादेखि त्रिवी उपकुलपति कार्यालयमा ताला झुण्डीएको छ। जसकारण नीतिगत निर्णयमा कठिनाई देखिएको छ।
प्राध्यापक संगठनहरुले वर्तमान पदाधिकारीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको हो। एकीकृत प्राध्यापक संगठन नेपाल, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘ विश्वविद्यालय इतिहासकै अति जटिल मोडमा छ र राजनीतिकरणलाई अझ तीव्र पारी सीमित राजनीतिक विचारधारा र अमूक पार्टी बाहेकको काम नहुने संस्थाका रूपमा त्रिवि पुगेको छ। जेष्ठता र प्राज्ञिक विशिष्टताका आधारमा नियुक्ति र चयन हुनुपर्ने कुरालाई लत्याएर आफूखुसी नियम बनाई आफ्ना भनिएका मानिसलाई मात्र सेवा र सुविधा तथा नियुक्ति दिने तथा पारदर्शी छनोट र मनोनयनलाई लत्याउने विद्यार्थी शिक्षक र कर्मचारीसमेतका जायज मागलाईसमेत उपेक्षा गरी आफू समर्थित विद्यार्थी र प्राध्यापकलाई प्रतिकारमा सामेल गराउने जस्ता कार्य गरी त्रिवीलाई द्वन्द्धको थलो बनाउन उद्दत हुने कार्य वर्तमान पदाधिकारीबाट भएको छ।’
वक्तव्यमा भनिएको छ,‘करार तथा आंशिक शिक्षकका समस्याको समाधान के हो र कसरी तीनका समस्या समाधान गर्न सकिएला भनी वार्ता नगर्ने कुराले उहाँहरूलाइ आक्रोसित बनाउने काम हुनुले पनि संस्थाको व्यवस्थापकीय नतत्वको अकर्मण्यता पुष्टि हन्छ। यस्तो अवस्थामा विश्वविधालय रहिँरहे यसले ल्याउने भावी परिणाम भयावह हुनेमा हामी अतिचिन्तित छौं। यस्तो स्थितिमा हामी वर्तमान पदाधिकारीलाइ उपयुक्त मार्गप्रशस्तका लागि आग्रह गर्छौ।’
त्रिविका वर्तमान पदाधिकारी नियुक्त भएपछि राजनीतिक पूर्वाग्रहका आधारमा कार्य गर्ने, विश्वविद्यालयलाई कनै एक राजनीतिक मान्यताका आधारमा चलेर सरोकारवालाका मत र विचारलाई उपेक्षा गर्ने, आफूखुसी नियम बनाएर नियुक्ति लगायतका प्रक्रियामा समेत प्राज्ञिक मूल्यको अवहेलना गर्ने, आफैले नियुक्त गरेका प्राध्यापकको अवमुल्यन गरी उनीहरूलाई अयोग्य भन्नसम्म पछि नपर्ने जस्ता अतिअप्राज्ञिक, अमर्यादित र उपकुलपतिको स्तरबाट भन्नै नहुने अभिव्यक्ति दिने जस्ता कार्यले ध्यानाकर्षण भएको जनाएको छ।
विज्ञप्तीमा भनिएको छ, ‘आफू निश्चित राजनीतिक पार्टी र गुटस्वार्थमा लिप्त हुने तर अरूलाई लाञ्छना लगाई आफू पानीमाथिको ओभानो हुने प्रवृत्ति बौद्धिक क्षेत्रमा अति अशोभनीय हुने हुँदा त्यस्ता कार्य गरेर त्रिभुवन विश्वविद्यालयको वातावरण नधुमिल्याउन र स्वच्छ शैक्षिक र प्राज्ञिक वातावरण निर्माण गर्नका लागि हामी वर्तमान पदाधिकारीलाई हार्दिक आग्रह गर्दछौं।‘
वर्तमान पदाधिकारीको नियुक्तिपछि प्राज्ञिक उन्नयनका कुनै नयाँ काम नगरेको संयुक्त प्राध्यापक संगठनको आरोप छ।
‘शैक्षिक क्यालेन्डर लागु गर्ने काम गर्न नसक्नु, पाठ्यक्रमलाई वर्तमानको आवश्यकताका आधारमा समयसापेक्ष रूपमा परिमार्जन र परिवर्तन गर्न नसक्न, शिक्षकको पेसागत विकासका लागि तालिम र अभिमुखीकरणका काम ठप्प जस्तै हुन, प्राध्यापक र कर्मचारीसँग गरिएका सहमति कार्यान्वयन गर्नुको सट्टा उल्टै त्यसमा उदासीन हुनु, त्रिवि सभाले गरेका निर्णयको कार्यान्वयन नगर्न र तालाबन्दीका कारण ठप्प भएको विश्वविद्यालयलाई सुचारु गर्ने दिशामा कुनै पहल नगरी पुराना कामलाई नै हाम्रा काम भन्दै वक्तवयबाजी गर्नु जस्ता कुरा अहिलेका त्रिविका ज्वलन्त विषय हुन्। यी र यस्ता गतिविधिका कारण अहिलेका पदाधिकारी त्रिविको विकासमा भन्दा अरू कसैको सेवामा लागेको कुरा सहज अनुमान गर्न सकिन्छ।’विज्ञप्तीमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्