‘काम छ’ भन्दै बाहिर बोलाएर यसरी भयो मेयरमाथि गोली र खुकुरी प्रहार

काठमाण्डौं ।  कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि सोमबार राति अज्ञात समूहले गोली र खुकुरी प्रहार गरेको छ । गम्भीर घाइते चौधरीको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि नेपालगन्ज मेडिकल कलेज लगिएको छ ।

घोडाघोडी– ५ सुख्खडस्थित घरमै रहेका चौधरीमाथि राति ८ः१० बजे आक्रमण भएको हो । उनलाई ‘काम छ’ भन्दै बाहिर बोलाएर गोली र खुकुरी प्रहार गरिएको परिवारका सदस्यले बताए । उनको कम्मरमुनि गोली र टाउको तथा दायाँ हातमा खुकुरीको चोट लागेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।

मेयर चौधरीलाई तत्कालै सुख्खडस्थित घोडाघोडी अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि राति नै नेपालगन्ज मेडिकल कलेज पुर्‍याइएको जिल्ला प्रहरी कार्यालयका एसपी विनोद शर्मा घिमिरेले बताए । मेयरकोे अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन  ।

तीन मोटरसाइकलमा आएका उनीहरूको पहिचान र आक्रमणको कारण खुलेको छैन । घटनास्थलबाट प्रहरीले से.२प ३६७१ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्