एमसीसीको विरोधमा प्रदर्शन गर्ने अनेरास्ववियूका ४२ जना पक्राउ

काठमाडौं , फागुन ४ । एमसीसीको विरोध प्रदर्शन गर्ने नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीसहित ४२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार अपरान्ह नयाँ बानेश्वरस्थित संसद भवन अगाडी एमसीसीको विरोधमा प्रदर्शनपछि भएको विरोधसभामा प्रहरीले हस्तक्षेप गरी अनेरास्ववियूका नेता कार्यकर्तालाई पक्राउ गरेको हो ।

प्रहरीले उपाध्यक्ष हिरेन्द्र शाही, उपमहासचिव भुपेन्द्र शाह, कल्याण दाहाल, मेघनाथ चापागाईं, महेश श्रेष्ठ, अशोक थापा, मिलन राई र सचिवहरू उतर खड्का, मनिषा कार्की र संगिता राना मगरलगायत ४२ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई नेपाल पुलिस क्लबमा राखिएको छ ।

अनेरास्ववियूका उपमहासचिव नरेश न्यौपानले अनेरास्ववियूका प्रहरी दमनको घोर भत्सर्ना गर्दै एमसीसी सम्झौता खारेज नभएसम्म आन्दोन जारी राख्ने चेतावनी दिएका छन् । एमसीसीका विरुद्ध आज देशभर विरोध प्रर्दशन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्