फागुन १ गतेबाट त्रिविका कक्षा भौतिक रूपमा सञ्चालन हुने

काठमाडौं , माघ २७ । फागुन १ गतेदेखि त्रिभुवन विश्वविद्यालयले भौतिक रूपमै पठनपाठन गर्ने भएको छ ।

बिहीबार एक सूचना जारी गरेर त्रिविले क्याम्पसरविभागरस्कुलहरूमा विद्यार्थीको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई विचार गरेर स्थानीय निकायले तोकेको समयसीमा र मापदण्डभित्र रहनेगरी स्थानीय निकायसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि पूर्व तयारी गरी कक्षा सञ्चालन, प्रशासनिक कार्य र परीक्षा गर्न भनेको छ ।

कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेपछि त्रिविका कक्षाहरू अनलाइनमा पठनपाठन हुँदै आएको थियो । संक्रमणदर घटेसँगै पठनपाठन, परिक्षा लगायत कार्यालयका सम्पूर्ण कामहरू भौतिक उपस्थितिमा नै सञ्चालन गर्ने भएको निर्णय भएको छ ।

यसका लागि त्रिविको कार्यकारी परिषद्ले २५ माघमा बैठकले निर्णय गरी स्वास्थ्य मापदण्ड पालना गरी भौतिक रूपमा कक्षा सञ्चालनदेखि दैनिक प्रशासनिक कार्य सम्पादन गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्