देशभर मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं, माघ २० ।  हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले बताएका छन् । आज (बिहीबार) रातिदेखि यसको प्रभाव बढ्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आज राति प्रदेश-१, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ । मधेस प्रदेशमा मौसम सामान्यतया सफादेखि आंशिक बदली रहनेछ ।

महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कणर्ाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा साथै गण्डकी, वाग्मती र प्रदेश-१ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहीबारदेखि मौसम पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय

बुधबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबार सुदूरपश्चिम प्रदेश, कणर्ाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूणर् बदली तथा वाग्मती प्रदेश, मधेस प्रदेश र प्रदेश-१ मा आंशिकदेखि सामान्य बदली रहनेछ ।

शुक्रबार देशैभरि सामान्यदेखि पूर्ण बदली रहने र शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यस प्रणालीको प्रभावले बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा तथा वाग्मती र प्रदेश-१ का उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । पहाडी तथा तराईका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

शुक्रबार देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । देशका पहाडी तथा तराईका धेरै स्थानहरूमा मेघगर्जन चट्याङ/असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

शनिबार गण्डकी, वाग्मती र प्रदेश-१ का उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । साथै, उक्त प्रदेशका पहाडी तथा तराई भेगका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आइतबारदेखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रूपमा सुधार हुने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्नेछ । चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्