खोप कार्ड अनिवार्य गर्ने सरकारको निणर्यविरुद्ध सर्वोच्चमा रिट दर्ता
काठमाडौं , माघ १८ । खोप कार्ड अनिवार्य गर्ने सरकारको निणर्यविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सविन पोख्रेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न सरोकारवाला निकायलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका हुन् ।
रिट निवेदनमा खोप कार्ड नभएकालाई सेवाबाट बञ्चित गर्नेदेखि सार्वजनिकस्थलमा प्रवेश रोक लगाउने समेतका सरकारी निणर्य गैरकानुनी रहेको जिकिर गरिएको छ । यो निणर्यलाई राष्ट्रिय मानवअधिकार आयोगले समेत मानवअधिकार उपभोगमा असर गर्ने काम भनेको स्पष्ट गरिएको छ ।
सो निणर्य उत्प्रेषणको आदेशले बदर भागी भएकाले बदर गरी इच्छुक सबै नेपाली नागरिक र व्यक्तिलाई सहजताका साथ खोप उपलब्ध गराउनु भन्ने परमादेश लगायत आवश्यक आदेश दिन माग गरिएको छ । यस्तै निवेदनको अन्तिम किनारा नलागेसम्म विपक्षीलाई माघ ६ र पुस ३० गतेको निणर्य लागू नगर्नका लागि अन्तरिम आदेशको माग पनि गरिएको छ ।
मुद्दा अदालतमा सोमबार दर्ता भएको र त्यसको पेशी बुधबारका लागि तोकिएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्