राष्ट्र बैंकले साढे १० करोड ब्याजमा लगानी गर्दै
काठमाडौं , माघ १४ । नेपाल राष्ट्र बैंकले झण्डै साढे १० करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले आफ्नो विभिन्न कोषमा रहेको १० करोड ४८ लाख रुपैयाँ एक वर्षका लागि निक्षेपको रुपमा बैंक तथा वित्तीय संस्थाहरुमा राख्न चाहेको हो ।
शुक्रबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई उल्लेखित निक्षेपका लागि दरखास्त हाल्न आह्वान गरेको छ । सूचना अनुसार बैंकले ब्याजमा लगानी गर्ने कुल १० करोड ४८ लाख मध्ये ८ करोड ३९ लाख रुपैयाँ वाणिज्य बैंकहरुले पाउने छन् भने एक करोड ५७ लाख रुपैयाँ विकास बैंक र ५२ लाख रुपैयाँ वित्त कम्पनीहरुले पाउने छन् ।
उक्त निक्षेप २०७८ फागुन २ गतेदेखि आगामी वर्ष २०७९ फागुन १ गतेसम्म बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ । तर, यस निक्षेपका लागि इच्छुक बैंक तथा वित्त कम्पनीले तोकिएको न्यूनतम पुँजीकोष कायम गरेको हुनुपर्ने र निष्क्रिय कर्जा ५ प्रतिशत भन्दा कम भएको हुनुपर्ने शर्त राखेको छ ।
प्रतिक्रिया दिनुहोस्