कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै, मुख्य एजेण्डा यस्तो छ

काठमाडौँ , माघ १४ ।   सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज (शुक्रबार) बस्दै छ । दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बस्ने गरी बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकमा पदाधिकारी र केन्द्रीय समिति सदस्यलाई बोलाइएको छ । बैठकमा केन्द्रीय कार्य सम्पादन समिति गठनबारे छलफल हुनेछ ।

कार्यसम्पादन समिति गठन हुँदै

केही दिनअघि पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाउने र कार्यसम्पादन समिति गठन गर्ने विषयमा उपसभापति पूणर्बहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच खड्का निवासमा छलफल भएको थियो । पार्टीलाई सुरुबाटै विधानसम्मत सञ्चालन गर्नुपर्ने पक्षमा रहेका यी तीनबीच कार्य सम्पादन समिति गठन गर्ने विषयमा छलफल भएको थियो ।

छलफलपश्चात् उनीहरू तीनै जना सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगे । बालुवाटारमा उपसभापति र महामन्त्रीद्वयसँगको छलफलपछि देउवा केन्द्रीय कार्यसमिति बैठक बोलाउने र कार्यसम्पादन समिति गठन गर्ने विषयमा सकारात्मक देखिए ।

तर, कोभिड-१९ का समयमा सरकार प्रमुख नै सरकारले तोकेको मापदण्डविपरीत जान नहुने भएपछि भर्चुअल माध्यमबाट ‘जम्बो’ कार्यसमिति बैठक बोलाउने विषयमा छलफल भयो । छफलबाटै देउवा शुक्रबारलाई भर्चुअल बैठक बोलाउन तयार भए । महामन्त्री गगन थापाका अनुसार शुक्रबार बैठक बोलाएर कार्यसम्पादन समिति गठन गर्ने तयारी भए पनि शुक्रबारै बैठक बस्ने निणर्य भने भइसकेको छैन । तर, बैठकको एउटै मात्र एजेण्डा कार्यसम्पादन समिति गठन गर्नु रहेको उनले बताए ।

के हो कार्य सम्पादन समिति ?

नवौं पटक ०७५ सालमा संशोधन गरिएको नेपाली कांग्रेसको विधान, २०१७ मा तल्लो गाउँपालिका वडा समितिदेखि नै कार्यसम्पादन समिति निर्माण गर्नुपर्ने व्यवस्था छ । विधानले नै गाउँपालिका वडा कार्यसम्पादन समितिदेखि केन्द्रीय कार्यसम्पादन समितिसम्मको काम, कर्तव्य र अधिकार स्पष्ट पारेको छ ।

कांग्रेस विधानको धारा २३ मा केन्द्रीय कार्यसम्पादन समिति गठनसम्बन्धी व्यवस्था छ । धारा २४ मा केन्द्रीय कार्यसमिति बैठक नबसेको अवस्थामा कार्यसमितिले गर्ने कार्यहरू कार्यसम्पादन समितिले गर्न पाउने उल्लेख छ । केन्द्रीय सदस्य मीन विश्वकर्मा पार्टीको दैनिक कार्य सञ्चालनका लागि आवश्यक निणर्य लिनका लागि कार्यसम्पादन समिति गठन गर्नुपर्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्