आजको मौसमः यी प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना

काठमाडौं, माघ १३ । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव छ । बिहान देशको पहाडी भू–भागमा आंशिक बदली र तराईका भू–भागमा हुस्सु कुहिरो लागि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

प्रतिक्रिया दिनुहोस्