परीक्षाको नतिजा प्रकाशनमा ढिलाइ नगर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं, माघ ११ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बाँकी रहेका सबै विषयका परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएका छन्।

त्रिभुवन विश्वविद्यालयले लिएको परीक्षाको नतिजा प्रकाशित गर्न ढिलाई भईरहेको गुनासो आईरहेका बेला मन्त्री पौडेलले बाँकी रहेका सबै परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारीहरुलाई निर्देशन दिएका हुन्। मंगलबार बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयको अनुगमन गर्न पुगेका विद्यार्थीले चाहेको बेलामा नतिजा प्रकाशित गर्ने व्यवस्था अपनाउन पनि त्यहाँका पदाधिकारीलाई सचेत गराएका थिए।

मन्त्री पौडेलले परीक्षा नियन्त्रण कार्यालयको प्रणालीमा सुधार गर्न आफू तयार रहेको तर जनशक्तिकै अभाव देखाएर परीक्षाको नतिजा प्रकाशित गर्ने काममा ढिलाई गर्न नहुने स्पष्ट पारे। ‘फाष्ट ट्रयाक’को विधि अपनाएर भएपनि परीक्षाको नतिजा प्रकाशित गर्न त्रिभुवन विश्वविद्यालयले ढिलाई गर्न नहुने उनको भनाई थियो।

‘जेसुकै तर्क गरेपनि रिजल्ट ढिलो भएको कुरा प्रमाणित छ। कोशिष गरे पनि काम गर्ने जनशक्ति कम भएको हुँदाखेरी ढिलाई भएको यहाँका कर्मचारीहरुले राख्नु भएको छ। तर सेवाग्राहीले समयमा सेवा प्राप्त गर्नुपर्नेमा रिजल्ट ढिला भएको छ। मौजुदा अवस्थाबाट रिजल्ट छिटो निकाल्ने फाष्ट ट्रयाकको तरिका अपनाउनुस् भनिएको छ। यसलाई सुधार्ने प्रसंगमा अर्को प्रणाली अपनाउँला तर अहिले नै भएको जनशक्तिबाट छिटोभन्दा छिटो रिजल्ट निकाल्ने काम अघि बढाउनुस् भनेका छौं’, मन्त्री पौडेलले भने।

यता, परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनशक्ति अभावको कारण परीक्षाको नतिजा प्रकाशित गर्न ढिलाई भएको जवाफ मन्त्री पौडेललाई दिएका थिए। उनले जनशक्तिको अभाव र विश्वविद्यालय अन्तरगतको विद्यार्थीहरुको संख्या बढि भएकाले परीक्षाको नतिजा प्रकशित गर्ने काममा ढिलाई हुन गएको कुरा आफूले मन्त्री पौडेललाई जानकारी गराएको बताए।

प्रतिक्रिया दिनुहोस्