एनआईसी एसिया बैंकसँग अन्तरबैंक कारोबार बन्द, बैंकका अधिकारीको आपत्ति
काठमाडौं । ब्याजदर नघटाएका कारण एनआईसी एसिया बैंकसँग अन्तरबैंक कारोबार बन्द गर्ने नेपाल बैंकर्स एशोसिएशनको निर्णयप्रति एनआईसी एसिया बैंकका उच्च अधिकारीहरुले आपत्ति जनाएका छन् ।
बैंकर्स एशोसिएशनले गत केहि दिन अगाडि सबै वाणिज्य बैंकहरुलाई ८ प्रतिशत व्याजदर बनाउन गरेको आग्रहलाई वेवास्ता गरि नियमलाई एनआईसी एसिया बैंकले उलंघन गर्दै आएको भन्दै अन्तरबैंक कारोबार बन्द गर्ने निर्णय गरेको छ ।
तर, नेपाल बैंकर्स एशोसिएशनको निर्णयप्रति बैंकका सहायक सिईओ सुुधीर पाण्डे ब्याजदरमा कडाई गर्ने अधिकार बैंकर्स एशोसिएशनसँग नभएको दावी गरे । उनले ब्याजदरको सिमा तोक्ने जिम्मा नेपाल राष्ट्र बैंकसँग मात्रै भएकाले नेपाल बैंकर्स एशोसिएशनले गलत निर्णय गरेको उनको बुझाई छ ।
सञ्चारकर्मीसंग कुरा गर्दै सहायक सिइओ पाण्डेले भने ‘हामीले ब्याजदर घटाएर बढाएका होइनौ, ब्याजदर के–कति तोक्ने र ग्राहकलाई कति प्रतिफल दिने भन्ने हाम्रो अधिकारको कुरा हो, यसमा बैंकर्स एसोसियसनले कुनै कडाई गर्न पाउँदैन । ’
तरलता अभावका कारण बचतमा १० प्रतिशत र मुद्दतिमा १२ प्रतिशत ब्याज दिएको पाण्डे बताउँछन् । बैंकले शुक्रबार मात्रै एक सुचना निकाल्दै बैंकले यस्तो ब्याजदर प्रस्ताव गरेको हो ।
यसअघि मुद्दति निक्षेपमा ११ प्रतिशत ब्याज प्रदान गरेको एनआईसीले शुक्रबार १ प्रतिशत ब्याज बढाउँदै १२ प्रतिशत कायम गरेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार गत पुस मसान्तसम्ममा ५ खर्ब ८७ अर्ब २८ करोड अन्तरबैंक कारोबार भएको छ । यस्तो अन्तरबैंक कारोबार बन्द भएसँगै एनआइसी एसिया बैंकको खर्च बढ्न सक्ने देखिन्छ ।
वैदेशिक मुद्रा सटही गर्नका लागि अब एनआईसी एसियाले राष्ट्र बैंकनै धाउनुपर्ने बाध्यता हुन्छ । त्यस्तै सीसीडी रेसियो मेन्टेन गर्न बैंकहरुबाट छाटो समयको लागि सापटी लिने पनि सुविधा हराएको छ । यसका लागि अब राष्ट्र बैंकनै धाउनुपर्ने हुन्छ ।
सस्तो ब्याजमा पाइने यस्तो ऋणको सुबिधाबाट बैंकहरुले एनआईसी एसियालाई बिमुख बनाएका छन् । अन्तरबैंक कारोबार बन्द गरेका बैंकहरुले एनआईसी एसियामा निक्षेप गरेर राखेको रकम पनि निकाल्न सक्ने जोखिम उत्तिकै बढेर गएको छ ।
एनआइसीले गत मंसिरसम्ममा अन्य बैंकबाट चार अर्ब ३० करोड रुपैयाँ र राष्ट्र बैंकबाट भने ४० करोड सापटी लिएको देखिन्छ । बैंकले ऋणपत्र लगायतबाट पनि ५० करोड रूपैयाँ पुँजी प्राप्त गर्दै आएको छ ।
अब बैंकले राष्ट्र बैंकबाट पैसा लिनु पर्दा ७ प्रतिशतसम्म ब्याजदर तिर्नुपर्ने हुन्छ । तर, अन्य बैंकबाट हाल ४।४० प्रतिशत पैसा पाउन सक्ने अवस्था छ ।
राष्ट्र बैंकले समेत बैंकहरुको व्याजदर निर्धारणमा सोझो दबाब दिन सक्दैन् । यसलाई व्यवस्थित गर्नैकै लागि राष्ट्र बैंकले व्याजदर कोरिडोर लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्