प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत, कार्यविधिमा प्रदेश

पोखरा । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिने भएका छन् ।
दिउँसो १ बजेका लागि विश्वासको मत लिने कार्य सूची भएको प्रदेशसभा सचिवालयले जनाउको छ ।
‘मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने, प्रदेशसभा नियामावली पारित गर्ने र आर्थिक कार्यविधि टेबल गर्नेलगायत कार्यसूची तयार पारेका छौं,’ प्रदेशसभा सचिवालयका सचिव शम्भुप्रसाद खड्काले भने ।
संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । माघ २८ गते प्रदेश ४ का एमाले संसदीय दलका नेताका रुपमा निर्वाचित गुरुङले २९ गते प्रदेश प्रमुख बाबुराम कुँवरबाट नियुक्ति लिएका थिए ।

६० जना प्रदेशसभा सदस्य रहेको प्रदेश ४ मा मतदानबाट गुरुङको पक्षमा बहुमत अर्थात ३१ मत प्राप्त हुनुपर्छ । एमालेको २७ र माओवादीको १२ सदस्य रहेकाले गुरुङले सजिलै बहुमत प्राप्त गर्नेछन् । प्रदेशसभाबाट विश्वासको मत प्राप्त भएपछि मुख्यमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने संविधानले नै व्यवस्था गरेको छ ।

प्रदेश ४ मा एमाले, माओवादी बाहेक कांग्रेसको ११, जनमोर्चाको ३, नयाँ शक्तिका २ सदस्य छन् भने १ जना स्वतन्त्र सांसद् छन् । एमालेको समर्थनमा मनाङबाट स्वतन्त्र सांसद बनेका दीपक मनाङे कर्तव्य ज्यान मुद्दामा दोषी ठहरपछि प्रहरीको वान्टेड सूचीमा छन् ।

यसका साथै फागुन २१ मा पेश भएको प्रदेश नियमावली पारित गर्ने कार्यसूची समेत आजको बैठकको छ ।

बिहीबारको मन्त्रिपरिषद बैठकले पारित गरेको आर्थिक कार्यविधि विधेयक पनि आज बस्ने संसद बैठकमा टेबल हुनेछ । संसद बैठकले कार्यविधि पारित गरेसँगै प्रदेशको बजेट ल्याउन बाटो खुल्नेछ । ‘आर्थिक कार्यविधि विधेयक संसदमा टेबल भएर पारित भएसँगै त्यही कानुनलाई टेकेर प्रदेशको पूरक बजेट ल्याउन बाटो खुल्ने छ ।

प्रतिक्रिया दिनुहोस्