पाँच महिनामा वाणिज्य बैंकहरुले कमाए २८ अर्ब नाफा, सबैभन्दा बढी कमाउनेमा एनआईसी एसिया

काठमाडौं, माघ ४ ।  चालु आर्थिक वर्षको पाँच महिनामा २७ वटा वाणिज्य बैंकहरुले २८ अर्ब भन्दा बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले दिएको रिपोर्ट अनुसार साउनदेखि मंसिर मसान्तसम्म कुल २७ वाणिज्य बैंकहरुले २८ अर्ब २० करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । जुन गत कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुले आर्जन गरेका कुल नाफा भन्दा १९.८७ प्रतिशतले बढी हो ।

गत कात्तिक मसान्तसम्म चार महिनामा बैंकहरुले २३ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएका थिए । एक महिनामा बैंकहरुले नाफा थप बढाएका हुन् । बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा कमाउनेमा एनआईसी एशिया बैंक बनेको छ । बैंकले चालु आर्थिक वर्षको पाँच महिनामा २ अर्ब ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो महिना एनआईसी एशिया बैंकले एक अर्ब ५९ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो । तुलनात्मक रुपमा एनआईसी एशिया बैंकले एक महिनामै २०.१६ प्रतिशतले आफ्नो नाफामा वृद्धि गरेको हो ।
यस्तै, दोस्रोमा ग्लोबल आईएमई बैंकले अघिल्लो महिनाको तुलनामा २०.८९९ प्रतिशतले आफ्नो नाफा वृद्धि गर्दै मंसिर मसान्तसम्ममा एक अर्ब ९६ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत कात्तिक मसान्तसम्ममा बैंकले एक अर्ब ५५ करोड १० लाख रुपैयाँ कमाएको थियो ।

यस्तै, बढी नाफा कमाउनेको तेस्रो स्थानमा रहँदै नबिल बैंकले मंसिर मसान्तसम्ममा एक अर्ब ८९ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो महिना अर्थात कात्तिक मसान्तसम्म एक अर्ब ५५ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको बैंकले एक महिनामा १७.८५ प्रतिशतले नाफा वृद्धि गरेको हो ।

सेन्चुरी बैंकको नाफा ४० करोड मात्र

समीक्षा अबधिमा सबैभन्दा कम नाफा कमाएर वाणिज्य बैंकहरुको लिस्टमा पुछारमा रहने बैंक सेन्चुरी बैंक बनेको छ । बैंकले चालु आर्थिक वर्षको पाँच महिनामा मुस्किलले ४० करोड २५ लाख रुपैयाँ मात्र नाफा कमाउन सकेको छ । नेपाल राष्ट्र बैंकले दिएको तथ्याङ्क अनुसार अघिल्लो महिना (कात्तिक मसान्तसम्म) बैंकले कुल ३१ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अबधिमा बैंकले ८ करोड ८३ लाख रुपैयाँले मात्र नाफा वृद्धि गर्न सकेको हो । यद्यपि, नाफा वृद्धिको प्रतिशतमा हेर्ने हो भने बैंकले एक महिनामा नै अधिकतम् २१.९४ प्रतिशतले आफ्नो नाफा वृद्धि गरेको छ । जुन उच्च वृद्धिदर हो ।

कुन बैंकले कति नाफा कमाए ? (रु लाखमा)

 

 

 

प्रतिक्रिया दिनुहोस्