राष्ट्रपतिको निर्वाचनका लागि आजदेखि आचारसंहिता लागु

काठमाण्डौं । राष्ट्रपतिको उम्मेदवारी मनोनयन दर्तासँगै बुधबारदेखि निर्वाचन आचारसंहिता लागू भएको निर्वाचन आयोगले जानकारी दिएको छ। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रपति निर्वाचनको आचारसंहिता अन्य निर्वाचन अचारसंहिताजस्तै सम्बन्धित सबै सरकारी निकाय र व्यक्तिलाई लागू हुनेछ।

बुधबार राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता भएको छ। राष्ट्रपतिमा एमाले-माओवादीबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेसबाट कुमारी लक्ष्मी राईले उम्मेदवारी दर्ता गराएका छन्।

पाँच वर्षका लागि राष्ट्रपतिको निर्वाचन हुन लागेको हो। तर, दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन सक्ने छैन। संविधानले राष्ट्रपति हुनका लागि संघीय संसद्को सदस्य हुन योग्य भएको, कम्तीमा ४५ वर्ष उमेर पूरा भएको र कुनै कानूनले अयोग्य नठहर्‍याएको भनी योग्यता निर्धारण गरेको छ।

राष्ट्रपतिले संविधान वा संघीय कानूनबमोजिम निजलाई प्राप्त अधिकारको प्रयोग र कर्तव्यको पालन गर्ने संविधानले व्यवस्था गरेको छ। संविधानको धारा ६६ अनुसार राष्ट्रपतिले यो संविधान वा संघीय कानूनबमोजिम आफूलाई प्राप्त अधिकारको प्रयोग र कर्तव्यको पालन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्