अर्को न्यून चापीय प्रणाली नेपाल प्रवेश, सोमबारसम्मै वर्षा र हिमपात

काठमाडौं ,पुस २३ । नेपालमा पुनः अर्को न्यून चापीय प्रणाली प्रवेश गर्न लागेको छ ।

अहिले रहेको पश्चिमी न्यून चापीय प्रणाली कमजोर अवस्थामा रहेको र शनिबारदेखि पश्चिम नेपालबाट अर्को न्यून चापीय प्रणाली प्रवेश गर्न लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नयाँ प्रणालीको प्रभावले शनिबार र आइतबार देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेश मा सामान्यदेखि पूर्ण बदली तथा प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने महाशाखाद्वारा जारी विशेष मौसम अपडेटमा उल्लेख छ ।

प्रणालीको प्रभावले आइतबारसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरूका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।साथै बागमती प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका केहि स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी र तराई भू–भागहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा तथा बाँकी प्रदेशका पहाडी तथा तराई भेगका थोरै स्थानहरूमा हल्का वर्षाको समेत सम्भावना रहेको छ ।

सोमबारदेखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रुपमा सुधार हुने महाशाखाले जनाएको छ । मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभाववाट जोगिनसमेत महाशाखाले आगह गरेको छ ।

महाशाखाले बिहीबार प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको असर शनिबारसम्म रहने जनाएको छ । जसले मौसम बदली भई देशभर वर्षा र हिमपात हुने जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्