मेगा बैंक र मोको डिजिटल वालेटबीच साझेदारी

काठमाडौं, पुस २२ ।  मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ्ग सुविधालाई अझ सुदृढ एवम् परिस्कृत गर्ने उद्देश्यले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको कार्डको लागि साझा केन्द्रको रूपमा कार्य गर्ने मोको डिजिटल वालेटसँग सहकार्य गरेको छ ।

यो साझेदारीसँगै मेगा बैंकका खातावालहरूले अब सिधै आफ्नो डेबिट वा क्रेडिट कार्डहरू मोको डिजिटल वालेटमा बिना कुनै मौज्दात, बिना कुनै शुल्क सहज रुपमा लोड गरी मोको डिजिटल वालेटको प्रयोग गर्न सक्नेछन ।

मोको डिजिटल वालेटमार्फत प्रयोगकर्ताहरूले आफ्नो वालेटमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सहज रुपमा लोड गरी क्यूआर कोड स्क्यान गरी सहजै रकमको भुक्तानी तथा रकमान्तर गर्न सक्नेछन ।

यस सुविधामार्फत ग्राहकहरुले हरेक कारोवारको लागि पटक–पटक मौज्दात लोड गर्नु नपर्ने हुँदा ग्राहकहरुलाई रकमको भुक्तानी तथा रकमान्तर गर्न अझ सहज हुने विश्वास लिएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताइन् । सिइओ खुञ्जेलीका अनुसार, अब मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले मोको डिजिटल वालेटका नवीनतम सेवाहरुको फाइदा उठाउन सक्नेछन् ।

मोको सुविधा तथा सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिएको पूर्ण रूपले फरक प्रकारको वालेट हो । यो एपले पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सेक्युरिटी स्टाण्डर्ड(पीसीआइडीएसएस) को नवीनतम प्रोटोकलको समेत अनुपालना गरेको हुँदा यो एप सुरक्षित ब्याक–इण्ड प्रणाली भएको मेगा बैंकका डिजिटल तथा ई–बैकिङ्ग प्रमुख बिश्व सिंहले जानकारी दिए ।

उनका अनुसार, मोको डिजिटल वालेट प्रयोगकर्ताहरूले युनिफाइट क्यूआर पेमेन्टको समेत लाभ लिन सक्नेछन । यस सुविधामार्फत मोको डिजिटल वालेट प्रयोगकर्ताहरू र मेगा बैंकका कार्ड प्रयोगकर्ताहरूले एलीपे, नेपाल पे, युनियन पे, भिसाजस्ता विभिन्न डिजिटल प्लेटफर्महरूमार्फत स्क्यान एण्ड पे प्रक्रियाको सहायताले रकमको भुक्तानी गर्न सक्नेछन् ।

मोको प्रयोगकर्ताहरूले प्रत्येक कारोवारको लागि रिवार्ड पोइन्टहरू प्राप्त गर्नेछन् भने संकलन भएको रिवार्ड पोइन्टहरू पछि मोकोको सहयोगीहरू र साझेदारहरूमार्फत आकर्षक उपहार तथा भौचरहरु रिडेम गर्नसमेत प्रयोग गर्न सकिन्छ । मोको एप गुगल प्ले स्टोर र एप स्टोरबाट सजिलै डाउनलोड गर्न सकिने मेगा बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्