सरकारले मुस्कान खातुनलाई ३ लाख रूपैयाँ दिने

काठमाडौं , पुस २२ । सरकारले एसिड आक्रमणबाट पीडित मुस्कान खातुनलाई ३ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खातुनलाई ३ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यस्तै बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई शुक्रबारदेखि लागू हुने गरी मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा नियुक्ति गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै जापान सरकारबाट प्राप्त हुने आर्थिक वृद्धि तथा उत्थानशीलताका १० अर्ब ३९ करोड रुपैयाँको नीतिगत ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०७८र७९ को लागि उखुको न्यूनतम खरिद मूल्य ५ सय २० रुपैयाँ निर्धारण गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणका विभिन्न वितरण केन्द्र र प्रसारण लाइनका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी पनि मन्त्रिपरिषद्ले तोकेको छ । गृह मन्त्रालय, लागूऔषध नियन्त्रण शाखाका शाखा प्रमुख र सबै जिल्ला प्रशासन कार्यालयका शाखामा प्रमुख जिल्ला अधिकारीलाई प्रमुख तोक्ने भएको छ ।

प्रहरी नवौं शंशोधन नियमावली २०७८ स्वीकृत गरेको मन्त्रिपरिषद्ले दार्चुला जिल्लामा महाकाली नदीमाथि नेपाल–भारत जोड्ने मोटेरेबल पुलको समझदारी पत्रमा हस्ताक्षर गर्न स्वीकृत दिएको छ ।

त्यसैगरी, राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा दमक–१ झापाका सुरेन्द्र बस्नेलाई नियुक्त गरेको छ भने नेपाल राजपत्रको नियमित अंक हप्ताको दुईपटक सोमबार र बिहीबार प्रकाशित गर्ने स्वीकृति दिने पनि निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्